चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल

काठमाडौँ, ८ असोज – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका राजदूत चेन सोङबीच आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता भयो। नवनियुक्त मन्त्रीलाई बधाई दिंदै राजदूत सोङले सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

भेटमा नेपाल–चीन सडक तथा विद्युत् प्रसारण लाइन कनेक्टिभिटी, चिनियाँ ठेक्का कम्पनीहरूले निर्माण गरिरहेका सडक र ऊर्जा आयोजनाको प्रगति, चिनियाँ लगानी र सहयोगमा सञ्चालित परियोजनाहरूको कार्यान्वयन अवस्था लगायतका विषयमा छलफल भयो।

मन्त्री घिसिङले काठमाडौँ–कोदारी (अरनिको) र स्याप्रुबेँसी–रसुवागढी सडक पहिरो र कमजोर भौगोलिक अवस्थाका कारण जोखिमयुक्त रहेको उल्लेख गर्दै आधुनिक प्रविधि प्रयोग गरी यी सडकलाई स्थायी र सुरक्षित बनाइदिन चीनलाई आग्रह गर्नुभयो।

साथै, काठमाडौँ चक्रपथ विस्तारअन्तर्गत कलङकी–बसुन्धरा खण्डको काम तत्काल सुरु गर्न र किमाथाङ्काबाट अर्को अन्तरदेशीय प्रसारण लाइन निर्माण अघि बढाउन पनि आग्रह गर्नुभयो।

घिसिङले चिनियाँ कम्पनीले ठेक्का लिएका कमला–कञ्चनपुर आयोजनाको निर्माण सन्तोषजनक नभएको भन्दै काममा गति दिन पहल गर्न अनुरोध गर्नुभयो। नारायणघाट–बुटवल तथा मुग्लिन–पोखरा सडक विस्तारमा सहयोग र सहजीकरणको आवश्यकता पनि औंल्याइयो।

राजदूत सोङले नेपाललाई प्राथमिकताका आधारमा सहयोग गर्न चीन सधैं तयार रहेको पुनः पुष्टि गर्नुभयो। भेटमा भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा, विकास सहायता महाशाखा प्रमुख सुशीलबाबु ढकाल, सडक विभागका महानिर्देशक बिजय जैशी र परराष्ट्र मन्त्रालयका अधिकारीहरूको सहभागिता थियो।

Facebook Comments Box