मुग्लिन–नारायणगढ अवरुद्ध हुँदा खैरेनीटार मार्ग विकल्प
तनहुँ, ८ असोज – लगातारको पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भइरहेपछि यात्रुहरू सास्ती खेपिरहेका छन्। तुइनखोलामा ढुङ्गा झर्ने क्रम रोकिएको छैन, जसले गर्दा यातायात सहज रूपमा सञ्चालन गर्न सकिएको छैन। दसैँको भिडभाडमा बाटो बन्द हुँदा सर्वसाधारण अझ मारमा परेका छन्।
यस्तो अवस्थामा मुग्लिन–नारायणगढको विकल्पका रूपमा तनहुँको खैरेनीटार हुँदै डेढगाउँ निस्कने मार्ग प्रयोग गर्न सकिने भएको छ। गण्डकी प्रदेश सरकारले यसलाई गौरवकाे आयोजना बनाएर मुस्ताङदेखि तराईसम्म जोड्ने गरी सडक निर्माण कार्य अघि बढाइरहेको छ।
साना सवारीसाधनका लागि उपयुक्त मानिएको यो बाटो दमौली–खैरेनीटारबाट बायाँ मोडिएर भीमाद–मानपुर हुँदै डेढगाउँ–वुलिङटार–ढोडेनी–गैँडाकोट हुँदै नारायणगढ पुग्ने सुविधा रहेको छ। यसै मार्ग प्रयोग गरिसकेका प्रकाशचन्द्र भट्टराईका अनुसार यात्रा सम्भव भए पनि केही खण्ड अझै कच्ची छन्।
विवरण अनुसार, मुग्लिनदेखि खैरेनीटारसम्म ७० किमी दूरी छ। खैरेनीटार–भीमाद सात किलोमिटर कालोपत्र, भीमाद–मानपुर ३५ किमी कच्ची सडक, मानपुर–डेढगाउँ ४० किमी कालोपत्रे र डेढगाउँदेखि नारायणगढ ७० किमीको दूरी रहेको छ।
यस्तै, मोटरसाइकल यात्रुका लागि दमौली–केशवटार–सुखौरा–हुस्लाङ–धरमपानी हुँदै झोलुङ्गे पुल पार गरेर मुग्लिन–नारायणगढ सडकमा पुग्ने वैकल्पिक बाटो पनि प्रयोगमा आएको धरमपानीका स्थानीय विजय रानाले बताए। उनका अनुसार, हाल केही मोटरसाइकल चालकले यही बाटो रोजिरहेका छन्।

