फेरिँदै राउटे समुदायको जीवनशैली
कञ्चनपुर, ७ असोज – परम्परागत रूपमा जङ्गलमा गिठा, तरुल र कन्दमूलमा निर्भर रहँदै काठका भाँडाकुँडाबाट जीविकोपार्जन गर्ने राउटे समुदाय अहिले समाजसँगै घुलमिल हुँदै गएको छ। भीमदत्त नगरपालिका–९ टुँडिखेलका बडसिंह राउटेले जङ्गलमा जस्तै काठका सामग्री बनाउन नपाएपछि सरकारले दिने सामाजिक सुरक्षा भत्तामै निर्भर रहनु परेको बताए। “मासिक काम पाउने अवस्था छैन। सरकारले दिने भत्ताले नै जीवन चलाउनुपरेको छ,” उनले भने।
समुदायमा बस्न थालेपछि सामाजिक गतिविधिमा सहभागी भए पनि रोजगारी नपाउँदा कठिनाइ बढेको उनीहरूको गुनासो छ। किरीदेवी राउटे भन्छिन्, “समाजमा घुलमिल त भएका छौँ तर रोजगारी नहुँदा समस्या छ। भत्ताले दैनिकी धान्न गाह्रो भएपछि छोरा रोजगारीको खोजीमा भारत गएको छ।”
अनिता राउटेले परम्परागत सीपले अहिलेको समयमा गुजारा गर्न गाह्रो भएको बताउँदै भनिन्, “गाउँघरमा मजदुरी गर्न जाने गर्छौँ। सरकारले आधुनिक सीप सिकाएर आत्मनिर्भर बनाइदिए राम्रो हुन्थ्यो।” करीब पाँच लाख जनसङ्ख्या भएको कञ्चनपुरमा तीन परिवार मात्र राउटे बसोबास गर्दै आएका छन्।
दार्चुलाको लालीबाट डडेल्धुराको जोगबुढा हुँदै कञ्चनपुरमा पुगेका उनीहरू अहिले बस्तीमै बस्न रुचाउने भएका छन्। पहिले अन्नसँग साटेर गुजारा गर्ने राउटे अहिले सरकारले दिने भत्ताबाट खाद्यान्न खरिद गर्छन्। पछिल्लो समय समुदायका चाडपर्वमा उनीहरूको सक्रिय सहभागिता देखिन थालेको छ।

