चाडपर्व आयो, मनमा उत्साह छैन
काठमाडौँ, ७ असोज — आज बिहान शङ्खमूल पार्क नजिकै गोमा विष्ट माटो र बालुवा खोज्दै भेटिनुभयो। सोमबार घटस्थापनामा जमरा राखेर दशैँको सुरुवात गर्नुभएकी गोमाले भने, “दशैँ त आयो, तर मन खुसी छैन।”
गोमाको यो भनाइ धेरैलाई प्रतिनिधित्व गर्छ। विगतमा हुने उत्साह र उमंग यो वर्ष काठमाडौँमा खासै देखिँदैन। एक साताअघिको जेनजी आन्दोलन र त्यसको प्रभाव अझै पनि धेरैको मनमा गहिरो छ। सहिद परिवार र घाइतेका आफन्तहरू अझै शोकमा छन्।
गोमाले आन्दोलनमा ज्यान गुमाएका युवाहरूको न्यायको आशा गर्दै देशमा शान्ति स्थापनाको कामना गरिन्। काठमाडौँ दशैँमा प्रायः सुनसान हुन्छ।
बाहिर काम गर्नेहरू घर फर्किएपछि राजधानीमा शान्ति छाउने गर्छ। तर पाटनका भक्तमान श्रेष्ठका अनुसार यो वर्ष सडकहरू शान्त भए पनि मन शान्त छैन।
“प्रहरी कार्यालयहरू जले, जेलबाट अपराधी भागे, सडकमा निश्चिन्त हिँड्ने अवस्था छैन,” उनी भन्छन्। “यसपालि चोरी-डकैती बढ्ने डर छ।”बानेश्वरकी २० वर्षीया भवानी निरौला पनि दशैँप्रति खास उत्साह देखाउन सक्दिनन्।
उनी जेनजी आन्दोलनमा सहभागी थिइन्। उनका साथीहरू घाइते छन् र केहीले ज्यान गुमाए। “साथी अस्पतालमा छ, म कसरी दशैँमा खुसी हुन सक्छु?” उनी भन्छिन्।
फुटपाथ बजारका व्यापारी विक्रम भट्टराईका अनुसार पनि किनमेलमा पहिलाजस्तो भीड छैन। “गोली चलेको आवाज अझै कानमा गुन्जिन्छ,” उनले भने।
कोटेश्वरकी टीका गौतमले भने घरको आवश्यक सामान र बालबालिकाका लागि कपडा किनिन्। तर उनले पनि भनिन्, “केटाकेटीलाई खुसी पार्नुपर्ने हो, तर आफ्नै मनमा यो वर्षको दशैँमा खासै उत्सव छैन।”
मनोवैज्ञानिक गोविन्द ढकालका अनुसार चाडपर्वले परिवार र समाजमा खुसी र सद्भाव फैलाउने काम गर्छ। तर यो वर्षको राजनीतिक अस्थिरता र असुरक्षाका कारण धेरैलाई दशैँमा रमाइलो गर्न कठिन भएको उनको भनाइ छ।
जेनजी आन्दोलनमा ७० भन्दा बढी युवाले ज्यान गुमाएका छन्, सयौँ घाइते अझै अस्पतालमा उपचाररत छन्, सार्वजनिक संरचना नष्ट भएका छन् र जेलबाट कैयौँ अपराधी भागेका छन्। यस्तो अवस्थामा यो वर्षको बडादशैँ पहिलाजस्तो उल्लासमय नभएको जेनजी पुस्ताका अगुवाहरू बताउँछन्।
तर उनीहरू भन्छन्, “हाम्रो धर्म र संस्कृतिको संरक्षण हाम्रो जिम्मेवारी हो। परिस्थितिले जस्तोसुकै चुनौती देओस्, गच्छे अनुसार दशैँ मनाएर मौलिक परम्पराको निरन्तरता दिनुपर्छ।”

