दसैँ सुरु भएसँगै लेकबाट बेसी झर्न थाले भेडीगोठ
बागलुङ, ८ असोज – दसैँ नजिकिएसँगै बागलुङका लेकमा रहेका भेडीगोठहरू बेसी झर्न थालेका छन्। जेठको दोस्रो सातादेखि लेक उक्लिएका गोठालाहरू घटस्थापनासँगै बथान लिएर बेसी फर्कन थालेका हुन्। चार महिनापछि परिवारसँग भेट हुने आशामा गोठालाहरू ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पर्ने टीकाधारा, फागुने, गर्पाछेडा, स्याचुङ लगायत निसीखोलाको रिग, खोलाखानी, तिलाचन र तमानखोलाको सोलेडाँडाबाट बेसी झरेका हुन्।
यी स्थानहरू समुद्री सतहदेखि तीन हजारदेखि चार हजार पाँच सय मिटर उचाइमा पर्छन्। लेकमा पर्याप्त चरन क्षेत्र र पोषिलो घाँस पाइने भएकाले असारदेखि गोठालाहरू त्यहाँ बस्छन्। तर, असोजसँगै चिसो बढ्ने र चाडपर्व सुरु हुने भएकाले उनीहरू बेसी फर्किन्छन्। यसबेला बथानसहित बेसी फर्किएका गोठालाहरू बजारतिर लाग्ने गरेका छन्। दसैँका लागि भेडा, खसी र च्याङ्ग्रा बेचेर उनीहरूले वर्षभरको आम्दानी गर्ने चलन छ।
निसीखोला गाउँपालिका–६ का कुमानसिंह विश्वकर्माले आफ्नो दुई सयभन्दा बढी भेडा लिएर तीन महिना २३ दिनपछि बेसी झरेको बताए। “हाम्रा बाउबाजेले यो पेशा गरे, हामीले पनि निरन्तरता दिएका छौँ। तर, अहिलेका छोराछोरीले पढाइ रोजेका छन्,” उनले भने।
ढोरपाटन नगरपालिका–९ का तुलबहादुर पुनले असार ३ गते लेक उक्लिएको र घटस्थापनासँगै बेसी झरेको बताए। “लेकमा विस्तारै चिसो बढ्न थालेपछि भेडाबाख्राको ज्यान जोखिममा पर्छ। त्यसैले प्रत्येक वर्ष असोजमै बेसी फर्किन्छौँ,” उनले भने।
गोठालाहरूको भेडाबाख्रा अहिले बुर्तिवाङ, खर्बाङ, गुल्मीको रिडी, पाल्पा हुँदै बुटवल तथा गलकोट, बागलुङ, पर्वत हुँदै पोखरासम्मका बजारमा बिक्रीका लागि लगिने तयारी भइरहेको छ। लेकबाट वस्तुभाउ बेसी झर्न थालेसँगै तल्लो क्षेत्रमा चहलपहल बढेको छ, जसले दसैँको माहोल अझै जीवन्त बनेको छ।

