अर्थमन्त्री खनालले सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाले
काठमाडौँ, ७ असोज – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पदबहाली गर्दै आफ्नो नयाँ जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको छ।
मन्त्रिपरिषद्को सोमबारको कार्यविभाजनअनुसार मन्त्री खनाललाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त जिम्मेवारी दिइएको हो।
पदबहाली समारोहपछि उहाँले मन्त्रालय र मातहतका निकायहरूको सङ्गठन संरचना सम्बन्धी फाइल मन्त्रिपरिषद्मा सैद्धान्तिक सहमति प्राप्त गर्न पठाउने प्रस्ताव अनुमोदन गर्नुभएको मन्त्रालयका प्रवक्ता कालिप्रसाद पराजुलीले जानकारी दिए।
मन्त्रालयका कर्मचारीहरूसँगको पहिलो सम्बोधनमा मन्त्री खनालले सेवा प्रवाहलाई प्रभावकारी बनाउन र भ्रष्टाचार न्यूनीकरणमा विशेष ध्यान दिन निर्देशन दिनुभयो। उहाँले “जेनजी आन्दोलनले उठाएको मुख्य माग सुशासन र पारदर्शिता हो, त्यसैले हाम्रो प्राथमिकता पनि यही रहन्छ,” भन्नुभयो।
मन्त्री खनालले कर्मचारीको आत्मसम्मानलाई सम्मानजनक ढंगले संरक्षण गर्ने प्रतिबद्धता जनाउँदै भ्रष्टाचारमा संलग्न कर्मचारीलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी पनि दिनुभयो।

