दसैँ नजिकिँदै गर्दा हिमाली भेडाच्याङ्ग्रा बजार झर्न थाले

म्याग्दी, ३ असोज – दसैँ आउन लागेसँगै हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा विभिन्न बजारमा झर्न थालेका छन् । मुस्ताङ, डोल्पा र जुम्लाबाट किसान र व्यापारीहरूले बथान लिएर सहर बजारतर्फ धपाउन थालेपछि पर्वको माहोल अझै बढेको छ ।

मुस्ताङबाट बेनी–जोमसोम सडक हुँदै म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरीमा ल्याइएका च्याङ्ग्राहरू ट्रक र कन्टेनरमार्फत पोखरा, काठमाडौँ, चितवन र बुटवलका लागि ढुवानी भइरहेको छ । नेपाल चौपाया खरिद बिक्री सङ्घका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठका अनुसार हालसम्म १,३०० च्याङ्ग्रा काठमाडौँ पठाइसकिएको छ भने थप १,७०० पठाउने तयारी भइरहेको छ ।

ठूला सहरमा भेडाच्याङ्ग्राको मुख्य स्रोत मुस्ताङ, जुम्ला र डोल्पा भए पनि यसपटक तातोपानी र रसुवानाका नाका बन्द भएकाले मुस्ताङी च्याङ्ग्राको आपूर्ति बढी हुने भएको छ । मुस्ताङको लोमान्थाङबाट पैदल ४६५ वटा च्याङ्ग्रा ल्याइएको छ भने डोल्पाका किसानहरूले २५ दिनको पैदलयात्रा गर्दै च्याङ्ग्रा बजार पुर्याइरहेका छन् ।

मुस्ताङमा प्रतिगोटा आकारअनुसार रु ३२ देखि ३७ हजारमा बिक्री भइरहेको च्याङ्ग्रा काठमाडौँ पुग्दा प्रतिकिलो रु १,३०० मा बिक्री हुने व्यवसायीहरूले बताएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार यस वर्ष मुस्ताङका किसानले पालेका १२ हजार र डोल्पा–जुम्लाका ३ हजार गरी करिब १५ हजार भेडाच्याङ्ग्रा बिक्री हुने अनुमान गरिएको छ ।

हिमाली जडीबुटीयुक्त बुकिमा चरिएका च्याङ्ग्राको मासु चाडपर्वमा विशेष स्वादका कारण उपभोक्ताबीच लोकप्रिय छ । च्याङ्ग्राको भुवाबाट पश्मिना उत्पादन हुने भएकाले यसले किसानलाई अतिरिक्त आम्दानी पनि दिने गरेको छ । तर, किसानका लागि हिउँचितुवा र ब्याँसोको आक्रमण, घाँसपातको कमी र हिउँदमा च्याङ्ग्राको आहार अभाव जस्ता चुनौती अझै कायम रहेको छ ।

Facebook Comments Box