दिक्तेल रूपाकोट मझुवागढीमा भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण
दिक्तेल रूपाकोट मझुवागढीमा भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण
खोटाङ, ३ असोज – राष्ट्रिय भूमि आयोगले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ । बिहीबार औपचारिक कार्यक्रमका बीच २९७ घरधुरीलाई जग्गाको निस्सा वितरण गरिएको हो ।
नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार, निस्सा पाएपछि वडा कार्यालयले ऐलानी तथा पर्ति जग्गा पहिचान गरी नगरपालिकालाई सिफारिस गर्नेछ । त्यसपछि सात दिनसम्म दाबी–विरोधको सूचना जारी गरिने र कुनै आपत्ति नआएमा लालपुर्जा वितरण प्रक्रिया अघि बढाइनेछ ।
जग्गा निस्सा पाएसँगै लामो समयदेखि भूमिहीन अवस्थामा रहेका दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरू आफ्नो नाममा लालपुर्जा पाउने आशामा छन् । नगरपालिकामा २३ घर अव्यवस्थित बसोवासी, ५८ घर सुकुम्बासी र १६ घर भूमिहीन दलित रहेको राष्ट्रिय भूमि आयोगले जनाएको छ ।
आयोगका अध्यक्ष निर्मल राईले जिल्लाभर ७९२ घरधुरी भूमिहीन र अव्यवस्थित बसोवासी लाभग्राही रहेको जानकारी दिनुभयो । उहाँले भने, “भूमिहीन घरपरिवारलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थितलाई व्यवस्थित गर्न तीव्र गतिमा काम भइरहेको छ ।”
भूमिहीन दलित र सुकुम्बासीलाई निःशुल्क जग्गा उपलब्ध गराइने छ भने अव्यवस्थित बसोवासीलाई आयआर्जन, सम्पत्ति र जग्गाको प्रकृति अनुसार मूल्याङ्कन गरी लालपुर्जा वितरण गरिने जनाइएको छ । राष्ट्रिय भूमि आयोगले हिमाल र पहाडमा आवास निर्माणका लागि ३४० वर्गमिटर (१० आना २ पैसा ३.०९ दाम) र खेतीपातीका लागि ३,००० वर्गमिटर (५ रोपनी १४ आना १ पैसा १.६२ दाम) जग्गा उपलब्ध गराइने जनाएको छ ।

