नेपाल वातावरण पत्रकार समूहद्वारा पत्रकारहरू पुरस्कृत र सम्मानित
काठमाडौं — नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले आफ्नो ४०औँ वार्षिक साधारणसभामा विभिन्न पत्रकारहरूलाई पुरस्कार र सम्मान प्रदान गरेको छ।
महोत्तरीका पत्रकार विशाल बस्नेतलाई यस वर्षको वातावरण पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। सौर्य दैनिकका आवद्ध बस्नेतलाई समूहका पूर्व महासचिव मोहन मैनालीले पुरस्कार प्रदान गरे। बस्नेत ३८औँ पुरस्कार विजेता हुन्।
नेवापसले सन् २०२४ मा वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित र प्रसारित सामग्रीहरूलाई मूल्याङ्कन गरी बस्नेतलाई सर्वोत्कृष्ट चयन गरेको हो। यस वर्ष पुरस्कारका लागि ४९ जना पत्रकारहरूले आवेदन दिएका थिए।
त्यसैगरी, उत्कृष्ट रिपोर्टिङ–२०२४ का लागि १० जना पत्रकारहरूलाई प्रशंसा–पत्र प्रदान गरिएको छ। सम्मानित हुनेहरूमा वसन्त ढुंगाना, ओम शाही, बालिका मादेन, वीरेन्द्र रमण, केशरराज क्षेत्री, युवराज कणेँल, विकास आचार्य, अर्चना दर्जी (परियार), दुर्गा रानामगर र सागर परियार रहेका छन्। कार्यक्रममा उपस्थित आचार्य र मादेनलाई पूर्व महासचिव मैनालीले सम्मानपत्र प्रदान गरे।
जेनजी आन्दोलन (भदौ २३ र २४) का बेला रेडियो सगरमाथाको प्रशारणलाई नियमित राख्न योगदान पुर्याएका स्टेसन म्यानेजर उर्वसी बस्न्यात र वरिष्ठ कार्यक्रम निर्माता दीपकबाबु अर्याललाई पनि समूहले सम्मान गरेको छ। उनीहरूलाई अध्यक्ष चन्द्रशेखर कार्कीले सम्मानपत्र प्रदान गरे।
साधारणसभामा नेवापसकी कर्मचारी कविता मरासिनीलाई उत्कृष्ट कर्मचारीका रूपमा १० हजार रुपैयाँसहित प्रशंसा–पत्र प्रदान गरिएको छ। मरासिनी विगत अढाई दशकदेखि संस्थामा कार्यरत छिन्।

