प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकोमा भारत र अमेरिकाको बधाई

काठमाडौँ, २२ फागुन  – नेपालमा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा छिमेकी भारत सरकारले खुसी व्यक्त गर्दै बधाई दिएको छ। नेपालमा निर्वाचनसम्बन्धी सञ्चारमाध्यमका प्रश्नको जवाफमा भारतको विदेश मन्त्रालय का प्रवक्ता रणधीर जयसवाल ले भारत सरकारका तर्फबाट निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा स्वागत व्यक्त गर्नुभएको हो।

उहाँको भनाइ उद्धृत गर्दै नेपालस्थित भारतीय दूतावास ले सार्वजनिक गरेको वक्तव्यमा नेपाली नागरिकले लोकतान्त्रिक अधिकार प्रयोग गर्दै उत्साहजनक सहभागितासहित मतदान गरेको उल्लेख गरिएको छ। वक्तव्यमा प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता तथा सरोकारवाला निकायलाई चुनौतीपूर्ण परिस्थितिका बीच निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिइएको छ।

साथै नेपालमा शान्ति, प्रगति र स्थिरताको समर्थनमा प्रतिबद्ध रहेको भारतले नेपाल सरकारको अनुरोधअनुसार निर्वाचनका लागि आवश्यक सामग्री सहयोग उपलब्ध गराएको पनि जनाएको छ। भारतले दुई देशबीचको पारस्परिक हित र सहकार्यलाई अझ सुदृढ बनाउन नेपालमा गठन हुने नयाँ सरकारसँग सहकार्य गर्न तत्पर रहेको वक्तव्यमा उल्लेख छ।

यसैबीच अमेरिकी दूतावास काठमाडौँ ले पनि नेपालमा निर्वाचन सहज र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार तथा नेपाली जनतालाई बधाई दिएको छ। दूतावासले दुई देशको समृद्धि र सुरक्षाको साझा लक्ष्य प्राप्तिका लागि आगामी दिनमा नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको छ।

Facebook Comments Box