धार्मिक तथा सांस्कृतिक सम्पदाको जगेर्ना अपरिहार्य

भोजपुर, २ असोज – विसं १८७२ मा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा नेपालकै एक मात्र टक काट्ने स्थलका रूपमा स्थापना भएको ऐतिहासिक टक्सार बजार आज धार्मिक र सांस्कृतिक महत्त्व बोकेको शहरका रूपमा परिचित छ । यहाँका दर्जनौँ मठमन्दिर र विहारहरू नै यस क्षेत्रको मुख्य पहिचान बनेका छन् ।

टक्सार बजार र आसपासमा करिब २० भन्दा बढी धार्मिक तथा सांस्कृतिक सम्पदा छन् । तीमध्ये ऐतिहासिक शाक्यमुनि बौद्धविहार, राममन्दिर, मच्छिन्द्रनाथ, शिवमन्दिर, हनुमान मन्दिर, गणेशलगायतका दर्जनौँ मठमन्दिर र विहारहरू विशेष महत्त्वका मानिन्छन् । तर संरक्षण र व्यवस्थापनको अभावमा यिनको भौतिक अवस्था दिनानुदिन जीर्ण बन्दै गएको छ ।

स्थानिय सानुकाजी शाक्यका अनुसार, टक्सारका मठमन्दिरहरू पाटनका जत्तिकै महत्त्व बोकेका भए पनि जीर्णोद्धार नहुँदा तीर्थालुहरूको चाप समेत घट्दो छ । “दोस्रो मिनी पाटनका रूपमा चिनिने टक्सारका सम्पदाहरू तत्काल संरक्षण आवश्यक छ,” उनले भने ।

त्यस्तै, स्थानीय किशोर ताम्राकारले ऐतिहासिक सम्पदाको संरक्षणमा राज्यको सक्रियता आवश्यक रहेको बताउँदै, गुरुयोजना बनाएर टक्सारलाई पहिलाकै स्वरूपमा फर्काउनुपर्नेमा जोड दिए । उनले टक्सारको इतिहास र पहिचान उजागर गर्न स्थापना गरिएको भोजपुर सङ्ग्रहालयमा समेत ध्यान दिन आग्रह गरे ।

यसैगरी, यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेका सम्पदाको जगेर्ना स्थानीय निकाय, प्रदेश र संघीय सरकारले योजनाबद्ध रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए । “यदि बेलैमा संरक्षण भएन भने टक्सारको पहिचान हराउन सक्छ,” रेग्मीले चेतावनी दिए ।

Facebook Comments Box