इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार
काठमाडौँ, ३० भदौ – जेनजी प्रदर्शनका क्रममा भएको आगजनीपछि ऐतिहासिक सिंहदरबार खण्डहरमा परिणत भएको छ । तर पनि त्यसको शिखरमा फहराइरहेको चन्द्र–सूर्य अंकित राष्ट्रिय झण्डाले फेरि पुनर्निर्माणको आशा र विश्वास दिलाइरहेको छ । त्रिभुवन विश्वविद्यालयका प्रा. डा. केशव बस्यालले जलेको सिंहदरबार नियाल्दै भावुक हुँदै भन्नुभयो, “यो दृश्य हेर्दा अत्यन्त पीडादायी छ । तर निराशा छैन, पक्कै पनि सिंहदरबार फेरि उभिनेछ भन्नेमा म विश्वस्त छु ।”
आगलागीले कुरुप बनेका सिंहदरबारका भित्तामाथिको शिल्पकला धुवाँले कालो बनेका छन् । कानुन व्यवसायी देवमाया घिमिरेले भवन जलिरहेको दृश्यले मन जलाएको बताउँदै भन्नुभयो, “यसको तस्बिर खिच्दा पनि हृदय भारी भयो ।” अर्की कानुन व्यवसायी सुमित्रा श्रेष्ठले सार्वजनिक सम्पत्ति जलाउनु दुखद भएको प्रतिक्रिया दिनुभयो ।
आइतबार मध्यान्ह सिंहदरबार वरपरको वातावरण गम्भीर देखिएको थियो । मोबाइल र क्यामेरामा तस्बिर कैद गर्नेहरूको अनुहार मलिन थियो । प्रशासनिक कार्य खुलेपछि भने कर्मचारीहरूको चहलपहल सुरु भएको थियो । प्राध्यापक बस्यालले इतिहाससँगै पहिचान गुम्ने चिन्ता व्यक्त गर्नुभयो । उहाँका अनुसार सिंहदरबार नेपालकै वैभवशाली विकासको प्रमाण हो, जसको पुनर्निर्माण आवश्यक छ ।
“यो ‘रिनोभेट’ गर्न नसकिने होइन, तर ठूलो रकम खर्च हुँदा अन्य क्षेत्रमा असर पर्न सक्छ,” उहाँले भन्नुभयो । गोरखा भूकम्पपछि पुनर्निर्माण भएको सिंहदरबार पुनः आकर्षक देखिएको स्मरण गर्दै सङ्घीय संसद् सचिवालयका कर्मचारी केशव अधिकारीले यसपटक फेरि खण्डहर बनेको देख्दा अत्यन्त पीडा भएको बताए ।
कर्णाली प्रदेशका कर्मचारी नवराज रिजालले जलेको सिंहदरबारलाई ऐतिहासिक सम्पदामाथिको प्रहारका रूपमा लिँदै तत्कालै पुनःनिर्माण गर्नुपर्नेमा जोड दिनुभयो । पशुपति क्षेत्र विकास कोषका कर्मचारी रामकृष्ण लामिछाने र सुरक्षा गार्ड एन्जल सुवेदीले पनि यो दृश्य अत्यन्त पीडादायी रहेको बताए ।
राणाकालीन समयमा चन्द्र शम्शेरले निजी निवासका लागि इस्वी सन् १९०३ मा निर्माण गरेको सिंहदरबारमा करिब १७ सय कोठा थिए । तत्कालीन अवस्थामा रु. २५ लाख खर्च गरेर बनेको यो दरबार त्यतिबेला एसियाकै सबैभन्दा ठूलो भवन मानिन्थ्यो । विसं २००७ पछि यसलाई सरकारको प्रशासनिक केन्द्र बनाइयो । विसं २०३० मा पनि ठूलो आगलागी हुँदा पछाडिको भाग जलेको थियो ।
हाल जलेको भवनभित्र रहेका मन्त्रालय र निकायका कर्मचारीहरू पुनः कार्यालय फर्केर नियमित काममा जुटेका छन् । नेपालीहरूको राजनीतिक, प्रशासनिक र ऐतिहासिक जीवन्त दस्तावेज बनेको सिंहदरबार फेरि पुनर्निर्माण भई समृद्ध नेपालको प्रतीकका रूपमा उभिने विश्वास गरिएको छ ।

