संखुवासभामा बाढीपहिरोको कहर : सात परिवार विस्थापित, विद्यालयदेखि सञ्चार सेवा प्रभावित
काठमाडौं, १६ असार – लगातारको वर्षापछि आएको बाढीपहिरोका कारण संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा सात परिवार विस्थापित भएका छन्। पहिरोले बस्ती जोखिममा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ भने विद्युत्, सञ्चार, यातायात र शैक्षिक सेवा समेत प्रभावित बनेका छन्।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार शनिबार रातिदेखिको अविरल वर्षापछि सिलिचोङ–१ तल्लो तेन्छोङमा पहिरो जाँदा सात परिवार विस्थापित भएका हुन्। विस्थापित हुनेमा कुन्ती राई, धनपूर्ण राई, मङ्गलबहादुर राई, सुकप्रसाद राई, मिरा राई, धनमान राई र अरुणसङ्गम राईका परिवार रहेका छन्।
बस्तीमाथिको जमिन चिरा परेपछि सिसुवा प्रहरी चौकीको सहयोगमा सबै परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक अनिल भुजेलको नेतृत्वमा १० सदस्यीय टोली घटनास्थलमा खटिएको छ। टोलीले थप क्षतिको विवरण सङ्कलन तथा अनुगमन गरिरहेको छ। सिलिचोङ गाउँपालिकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा आवश्यक परे तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
बाढीपहिरोका कारण गाउँपालिकाभित्र विद्युत्, सञ्चार र यातायात सेवा अवरुद्ध भएका छन्। गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङका अनुसार सिसुवाखोलामा आएको बाढीले दुई वटा विद्यालयमा क्षति पुर्याएपछि पठनपाठन पूर्ण रूपमा बन्द भएको छ। गाउँपालिका केन्द्रसम्म पुग्ने सडक अवरुद्ध हुँदा सरकारी सेवा प्रवाहसमेत प्रभावित भएको छ। पहिरोले गाउँपालिकाभित्रका अधिकांश सडक र गोरेटो बाटो अवरुद्ध बनाएको छ भने दुई वटा स्थानीय माइक्रोहाइड्रो आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
करिब ७० प्रतिशत सञ्चार सेवा पनि अवरुद्ध भएको जनाइएको छ। सिलिचोङ–१ नेवाटारस्थित कालिका माध्यमिक विद्यालयमा पहिरोका कारण १५ वटा कक्षाकोठामा चिरा परेको छ भने शैक्षिक सामग्रीमा समेत क्षति पुगेको छ। यस्तै, सिलिचोङ–४ को बागेश्वरी आधारभूत विद्यालय पनि पहिरोबाट प्रभावित भएको छ। दुवै विद्यालयमा पठनपाठन अनिश्चितकालका लागि रोकिएको छ।
गाउँपालिकाका अनुसार तेन्छोङ, होयेङ्ला, चेप्चेवा, नेवाटार, याङसिम र गोगानेलगायतका दर्जनौँ बस्ती अझै पहिरोको उच्च जोखिममा छन्। जोखिम बढेपछि धेरै स्थानीय घर छाडेर सामूहिक रूपमा सुरक्षित स्थानमा आश्रय लिएर बसेका छन्। स्थानीय जनप्रतिनिधि, गाउँपालिका, वडा कार्यालय र सुरक्षा निकायको संयुक्त टोलीले प्रभावित क्षेत्रको अनुगमन तथा उद्धार कार्य जारी राखेको छ।
तर निरन्तर वर्षाका कारण सडक अवरुद्ध भएकाले राहत तथा उद्धार सामग्री पुर्याउन कठिनाइ भइरहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले प्रभावित क्षेत्रको राहत, पुनर्स्थापना र दीर्घकालीन व्यवस्थापनका लागि कोशी प्रदेश सरकार तथा सङ्घीय सरकारसँग तत्काल आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरेको छ।

