चितवन कारागारका ५४ कैदीबन्दी फर्किए
भरतपुर, २७ भदौ – चितवनको भरतपुर कारागारबाट बुधबार बिहान भागेका कैदीबन्दीमध्ये ५४ जना आफैं फर्किएका छन्। जिल्ला कारागार चितवनका प्रमुख रविन्द्र ढुंगानाका अनुसार बुधबार बिहान करिब ७४० कैदीबन्दीले कारागारमा आगजनी गर्दै सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको घेरा तोडी निस्किएका थिए। ५५० क्षमताको उक्त कारागारमा घटनाका बेलामा ४६ जना महिला सहित ७४० कैदीबन्दी रहेका थिए।
ढुंगानाले कैदीबन्दीलाई फोनमार्फत सम्पर्क गरेर बोलाइएको र फर्किने क्रम सुरु भएको जानकारी दिनुभयो। “बुधबारको माहोल बेग्लै थियो, त्यतिखेर सबै निस्किएर गए। अहिले भने सरकार जसरी पनि समात्छ भन्ने आशनकाले फर्किएको देखिन्छ,” उहाँले बताउनुभयो। बुधबार बिहान कैदीहरूले तोडफोड गर्दै मूल गेटमा आगजनी गरेपछि सुरक्षाकर्मीलाई नियन्त्रणमा लिन कठिन भएको र उनीहरूलाई छाड्न बाध्य भएको पनि ढुंगानाले जानकारी दिनुभयो।

