मुक्तिका १७ वर्षः अझै पूरा भएन मुक्त हलिया पुनःस्थापना

कैलाली, २२ भदौ – हलिया प्रथा अन्त्य भएको १७ वर्ष पुगे पनि सबै मुक्त हलियाको पुनःस्थापना अझै हुन सकेको छैन । विसं २०६५ भदौ २१ गते सरकारले हलिया प्रथा अन्त्यको घोषणा गरेको थियो । तर लामो समय बित्दा पनि हजारौँ मुक्त हलिया अझै कष्टकर जीवन बिताउन बाध्य छन् ।

राष्ट्रिय मुक्त हलिया समाज महासङ्घका कार्यकारी निर्देशक हरिसिंह बोहराका अनुसार सरकारद्वारा प्रमाणीकरण गरिएका १६ हजार ९५३ परिवारमध्ये हालसम्म १३ हजार ५४६ परिवारले मात्रै पुनःस्थापना प्याकेज पाएका छन् । तीमध्ये पनि एक हजार १०४ परिवारले अन्तिम किस्ता लिन बाँकी छ भने अझै एक हजार १३५ परिवारको पुनःस्थापना हुन सकेको छैन ।

मुक्त हलियाको पुनःस्थापनामा सरकार पर्याप्त गम्भीर नदेखिएको महासङ्घका अध्यक्ष ईश्वर सुनारले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “मुक्ति घोषणा भएको १७ वर्ष बित्दा पनि धेरै परिवार अझै पुनःस्थापित हुन सकेका छैनन् । परिचयपत्र पाएकासम्मको समस्या समाधान नभइसकेको अवस्थामा परिचयपत्र नपाएकाको त झन् गाह्रो छ ।”

रोजगारीको अवसर नहुँदा पुनःस्थापना भइसकेका परिवारलाई पनि गुजारा चलाउन मुस्किल परेको, शिक्षा–स्वास्थ्यलगायत आधारभूत सुविधामा समस्या भइरहेको उहाँको भनाइ छ ।

यद्यपि पछिल्लो समय केही स्थानीय तहले मुक्त हलिया पुनःस्थापना कार्यविधि बनाउन थालेका छन् । सुनारका अनुसार सुदूरपश्चिमका ३० पालिका र कर्णाली प्रदेशको एक पालिकाले यस्तो कार्यविधि तयार पारेका छन् । प्रदेश सरकारले पनि मुक्त कमैया, हलिया तथा कम्लरी पुनःस्थापना कार्यविधि बनाएको छ तर कार्यान्वयन भने हुन सकेको छैन ।

संविधानसभा सदस्यसमेत रहनुभएका हलिया अधिकारकर्मी हरि श्रीपाइलीका अनुसार तीनै तहका सरकारले आ–आफ्नो जिम्मेवारी पुरा गरे बाँकी मुक्त हलियाको पुनःस्थापना सहजै सम्भव छ । “हामीले बनाएको प्रतिवेदनमा छुट मुक्त हलियाको पुनःस्थापना, शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्नुपर्ने स्पष्ट उल्लेख छ,” उहाँले भन्नुभयो, “ती सुझाव कार्यान्वयन गर्ने हो भने छिट्टै समस्या समाधान हुन्छ ।”

Facebook Comments Box