‘गाउँमा बुढापाका र बालबालिका मात्रै छन्’

बागलुङ, २१ भदौ – बसाइँसराइ र श्रम पलायनका कारण बागलुङका धेरै गाउँ सुनसान बन्दै गएका छन् । मान्छे सहर र विदेशतिर झर्दै जाँदा गाउँमा वृद्धवृद्धा र बालबालिका मात्रै बाँकी रहेका छन् । बसाइँसराइले गर्दा खेतीयोग्य जमिन बाँझिँदै गएको छ । कतै झाडी पलाएका छन्, कतै वनमाराले खेतबारी ढाकिएका छन् । ताल्चा लगाइएका घर भत्किँदै र चिरिँदै गएका छन् ।

खासगरी काठेखोला गाउँपालिका, जैमिनी र गलकोट नगरपालिकामा बसाइँसराइ बढी भएको छ । कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी सन्तोष अधिकारीका अनुसार जिल्लामा कूल ४६ हजार १४८ हेक्टर खेतीयोग्य जमिनमध्ये हाल ३० हजार ५०३ हेक्टरमा मात्रै खेती भइरहेको छ । झण्डै १५ हजार ६४५ हेक्टर जमिन बाँझो छ ।

खेतीयोग्य जमिनमध्ये २५ प्रतिशत मात्र खेती हुने गरेकोमा हाल त्यो घटेर १७ प्रतिशतमा झरेको छ । “गाउँबाट बजार र विदेश झर्ने प्रवृत्ति रोकिएन भने बाँझो जमिन झन् बढ्दै जाने सम्भावना छ,” अधिकारीले भन्नुभयो । जैमिनी–४ की देवी शर्माले बारीमा काम गर्ने मान्छे नहुँदा आफ्ना ८० प्रतिशत खेत बाँझो बनेको बताउनुभयो । पहिले वर्षमा २० मुरी धान, २२ मुरी मकै र कोदो उत्पादन गर्ने उहाँ अहिले पाँच÷सात मुरी धान काट्न पनि मुस्किल हुने बताउनुहुन्छ ।

काठेखोला–८ का मेघराज कँडेलले पनि पछिल्लो १० वर्षमा गाउँका आधा बढी खेतीयोग्य जमिन बाँझो भएको बताउनुभयो । “पहिले धान बेचेरै वर्षभर खान पुग्थ्यो, अहिले बारी भएर पनि उत्पादन गर्न सकिँदैन,” उहाँले भन्नुभयो । जिल्लामा कुल खेतीयोग्य जमिनको करिब २५ प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङले जनाएको छ । दुई हजार ८४१ हेक्टर जमिनमा मात्र बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध छ ।

Facebook Comments Box