शुक्रबार देशभर ३४ विपदका घटना
काठमाडौँ, २१ भदौः शुक्रबार दिनभरि देशभर ३४ वटा विपदका घटना घटेका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरो, अविरल वर्षा, चट्याङ, आगलागी र जनावर आक्रमणजस्ता घटनाले जनजीवन प्रभावित पारेका छन् । यी घटनामा एकजनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । पाँच वटा सडक अवरुद्ध भएका छन् भने अनुमानित रु तीन लाख ९५ हजार बराबरको क्षति भएको छ ।
प्राधिकरणका अनुसार पाँचथर, ताप्लेजुङ, लम्जुङ, मुस्ताङ, रोल्पा, रुकुमपूर्व, सुर्खेत, जाजरकोट, रुकुम पश्चिम, डोटी, बझाङ र सोलुखुम्बुमा पहिरोका कारण समस्या देखिएको छ । अविरल वर्षाका घटना सोलुखुम्बु, कास्की, दाङ, कालिकोट, रुकुम पश्चिम, बैतडी र डडेल्धुरामा भएका छन् । यस्तै, बझाङ, सुनसरी, ओखलढुंगा, रुपन्देही, सुर्खेत, मुगु र कैलालीमा चट्याङ परेको छ । सर्लाही, बर्दिया, कञ्चनपुर र डोटीमा जनावर आक्रमणका घटना घटेका छन् ।
गत वैशाखदेखि भदौ १८ गतेसम्म देशभर ३ हजार ४४७ विपदका घटना भएका प्राधिकरणले जनाएको छ । ती घटनामा २२१ जनाको मृत्यु, २२ जना बेपत्ता र ८११ जना घाइते भएका छन् । करिब ६ हजार २६१ घरपरिवार प्रभावित भएका छन् ।
यही अवधिमा २५४ वटा बाढीका घटना हुँदा २७ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन् । ४१८ वटा पहिरोमा १९ जनाको मृत्यु भएको छ भने ५५९ घरपरिवार प्रभावित भएका छन् । त्यसैगरी, एक हजार २३१ आगलागीका घटनामा २३ जनाको ज्यान गएको र १७४ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

