पाण्डवले चिनाएको पचभैयामा बढ्दै पर्यटक

गण्डकी, १८ भदौ – सात तालको बगैँचा सहर लेखनाथमा अवस्थित पचभैया प्राकृतिक, धार्मिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदैछ। बेगनास र रुपा तालको बीचमा पर्ने यो क्षेत्र महाभारतकालीन समयमा पाण्डवले एक रात बिताएको विश्वासका कारण धार्मिक रूपमा महत्वपूर्ण मानिन्छ।

पचभैया कोट देउराली संरक्षण तथा व्यवस्थापन समितिका पूर्वअध्यक्ष दीनानाथ ढकालका अनुसार गुप्तवासको क्रममा पाण्डवहरुले देवीको शक्ति प्राप्त गरेको विश्वासका कारण यहाँ दर्शनार्थीहरू श्रद्धापूर्वक पूजा अर्चना गर्न आउने गर्छन्। विसं २०६० मा स्थानीय सक्रियताबाट मन्दिर निर्माण भएको थियो र त्यसका लागि महायज्ञ गरी करिब रु ५० लाख संकलन गरिएको थियो।

पचभैयाबाट अन्नपूर्ण, धवलागिरी र मनास्लु हिमश्रृङ्खला हेर्न सकिन्छ भने बेगनास र रुपा तालको दृश्यले यहाँको पर्यटकीय महत्व बढाएको छ। यस क्षेत्रमा हाल १४ वटा होमस्टे सञ्चालनमा छन् भने केही होटल पनि छन्।

साथै, जलपर्यटन र अन्य पर्यटकीय गतिविधि बढाउने उद्देश्यले पचभैया प्राणी उद्यान केन्द्र निर्माण गरिएको छ। गण्डकी प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालय कास्कीको देखरेखमा सञ्चालन भइरहेको यस केन्द्रमा चितुवा, निलगाई, रतुवा मृग, चित्तल, चरीबाग, वन बिरालो, स्याल, अजिङ्गर, सेता गिद्ध, मयुर, कछुवा लगायत २२–२३ प्रजातिका वन्यजन्तु र पक्षी अवलोकन गर्न पाइन्छ। रुपातालमा २४ प्रजातिका माछा र ३६ प्रजातिका चरा पनि छन्।

स्थानीय सचेतना अभिवृद्धि गर्न यहाँ सिड फाउण्डेशन नेपालमार्फत विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। हिमालय फरेष्ट रिसोर्ट पचभैयाका सञ्चालक प्रमोद भण्डारीका अनुसार भौगोलिक अवस्थिति र मनोरम दृश्यले पचभैयालाई पर्यटकीय गन्तव्यका रूपमा अझ आकर्षक बनाएको छ।

Facebook Comments Box