अन्नपूर्ण पदमार्गमा ढकमक्क पोथ्रे गुराँस
म्याग्दी, १८ भदौ – अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ हुँदै अन्नपूर्ण प्रथम आधार शिविरतर्फ जाने पदमार्ग हाल ढकमक्क फुलेका ‘पोथ्रे गुराँस’का कारण आकर्षक बनेको छ। हिमाल, तालतलैया, झरना र प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पदमार्गमा हुमखोलादेखि सुनखोलासम्म फुलेका गुराँसले पर्यटकलाई स्वागत गरिरहेका छन्।
जेठदेखि भदौसम्म फुल्ने पोथ्रे गुराँस यात्रु तथा पर्यटकलाई विशेष रूपले लोभ्याउने गरेको छ। वनस्पतिविज्ञ कमल मादेनका अनुसार नेपालमा पाइने गुराँसका ३३ प्रजातिमध्ये पोथ्रे गुराँस सानो रैथाने प्रजाति हो। यसको बोट तीन मिटर अग्लोसम्म हुने गरेको छ।
तर डढेलो लगायतका कारण यो दुर्लभ प्रजाति क्रमशः मासिँदै गएको उनले चिन्ता व्यक्त गरे। अन्नपूर्ण पदमार्गमा पोथ्रेबाहेक रातो, गुलाबी, सेतो र बैजनी रंगका अन्य गुराँस प्रजाति पनि पाइने भएकाले संरक्षणमा सम्बद्ध निकायलाई संवेदनशील हुनुपर्नेमा उनको जोड छ।

