कोशी ब्यारेजका ३१ ढोका खोलिँदा रातो बत्ती बल्यो
सुनसरी, १६ भदौ – लगातारको वर्षासँगै सप्तकोशी नदीमा पानीको सतह बढेपछि कोशी ब्यारेजका ३१ ढोका खोलिएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार राति १० बजे गरिएको मापनमा नदीमा पानीको प्रवाह प्रति सेकेन्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ। दिउँसो २ बजे मात्र प्रवाह एक लाख ७४ हजार ३७५ क्युसेक रहँदा २३ ढोका खोलिएको थियो।
कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने व्यवस्था छ। हालको जलसतह त्यस सीमाभन्दा धेरै माथि पुगेकाले ब्यारेज कन्ट्रोल रुमले रातो बत्ती प्रज्वलन गरेको जनाएको छ।प्रहरीका अनुसार पहाडी भेगमा भइरहेको अविरल वर्षाका कारण नदीमा जलसतह अझै बढ्ने सम्भावना रहेको छ।
Facebook Comments Box

