आजको मौसम : कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौँ, १५ भदौ – हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा सक्रिय रहनुका साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह बढेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ भने अन्य प्रदेशका पहाडी तथा तराई भूभागका कतिपय स्थानमा समेत वर्षा हुन सक्ने अनुमान गरिएको छ। विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, आज राति पनि देशभर बदली रहने अनुमान छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने र गण्डकी तथा सुदूरपश्चिमका पहाडी भागका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

महाशाखाले निरन्तरको वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्न सक्ने, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह उक्लन सक्ने र यातायातमा असर पर्न सक्ने सम्भावना रहेकाले सबैलाई सतर्क रहन र पूर्वतयारी गर्न आग्रह गरेको छ।

Facebook Comments Box