कृषि वस्तु निर्यातमा सहजीकरण गर्न नेपालले चीनसँग आग्रह

काठमाडौं, १४ भदौ – नेपालले भैंसीको मासु, दुग्धजन्य पदार्थ, तरकारी, फलफूल र जडीबुटी चीन निर्यातमा सहजीकरण गर्न आग्रह गरेको छ। काठमाडौंमा आयोजित नेपाल–चीन द्विपक्षीय बैठकमा नेपालका तर्फबाट कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र चीनका तर्फबाट भन्सार प्रशासनका उपमन्त्री वाङ लिङजुनले नेतृत्व गर्नुभएको थियो।

बैठकमा नेपालले थर्मलरूपमा प्रशोधित भैंसीको मासु र कार्टिलेज (कुरकुरे हाड) साथै घ्यु, नौनी, वटर, छुर्पी जस्ता दुग्धजन्य पदार्थ चीन निर्यातका लागि जोड दिएको छ। यस्तै, हेलेज–साइलेज (पशु आहार), कुखुराको मासु र पञ्जा, तरकारी, सुन्तलाजन्य फलफूल, चिया, कफी तथा जडीबुटीसमेत निर्यातका लागि थप सहजीकरण गर्न आग्रह गरिएको हो।

हाल नेपालबाट ३४ प्रकारका कृषि वस्तु ६१ कम्पनीमार्फत चीन निर्यात हुँदै आएका छन्। त्यस्तै, हरियो घाँस–हेलेज पाँच कम्पनीमार्फत पठाइएको छ। नेपालले पशु आहार साइलेज निर्यातका लागि पनि प्रस्ताव प्रस्तुत गरेको छ। चीनका उपमन्त्री वाङले नेपाललाई छिमेकी मुलुकको रूपमा प्राथमिकता दिँदै कृषि निर्यातलाई महत्वका साथ अघि बढाइने बताएका छन्।

“व्यापार सहजीकरणका लागि संयुक्त प्रयास जरुरी हुन्छ, हामी त्यसका लागि तयार छौं,” उहाँले बैठकमा बताउनुभयो। कृषिमन्त्री अधिकारीले मासु निर्यातका लागि खोरेत मुक्त क्षेत्र घोषणा तथा चीनको क्वारेन्टाइन मापदण्ड पूरा गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। साथै, सुन्तला जातका फलफूल निर्यातमा केही सर्तमा लचकता अपनाउन पनि आग्रह गर्नुभएको थियो।

दुवै देशले नेपाली कृषि उपज निर्यात सहजीकरणका लागि संयुक्त संरचना स्थापना गर्ने प्रस्तावमा सहमति जनाएका छन्। बैठकमा मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा, डा. दीपककुमार खरालसहित अन्य अधिकारी र चीनको भन्सार प्रशासनका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

Facebook Comments Box