धानबालीमा डढुवा रोगको समस्या, उत्पादनमा कमी हुने अनुमान

चितवन, १२ भदौ – चितवनका तीन स्थानीय तहमा रोपिएका धानमा डढुवा रोगसहित अन्य समस्या देखिएका छन्। भरतपुर महानगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका किसान प्रभावित भएका छन्।

कृषि विकास कार्यालय चितवनकी अधिकृत स्वस्तिका चौहानका अनुसार दैनिक पाँचदेखि सात किसान धानमा देखिएका रोगका समस्यासहित कार्यालयमा पुग्ने गरेका छन्। धानमा डढुवा रोगसँगै पोटासको कमी, गभारो र मिलिवगजस्ता रोगको प्रकोप पनि बढेको छ।

डढुवाले धानको पातमा खैरो थोपाहरु देखापर्ने, ढुसीको कालो गिर्खा देखिने र बोट सुकेर डढेको जस्तो देखिने लक्षण देखिन्छ। यसबाट जोगिन नाइट्रोजन मलको बढी प्रयोग नगर्न, बोटबीच दूरी बढाउन र ढुसी नाशक विषादी प्रयोग गर्न चौहानले सुझाव दिनुभयो।

पश्चिम चितवनका बीउ उत्पादन क्षेत्रका धानमा पोटासको कमी देखिएको छ। करिब १० हेक्टरमा पात पहेँलिने, टुप्पा सुक्ने र बाला नलाग्ने समस्या देखापरेको कार्यालयले जनाएको छ।

धानमा गभारो र मिलिवग रोगको पनि संक्रमण बढेको छ। गभारो लाग्दा बिरुवा कलिलो अवस्थामा मरेर सुक्ने वा फुल्दा सेतो बाला देखिने गर्छ भने मिलिवग खाद्यतत्वको कमीका कारण फैलिएको छ।

यो समस्या रोक्न खेतमा पानीको सतह बढाउने, वरिपरिका घाँसपात हटाउने र कीराको प्रकोप बढेमा तत्काल कृषि कार्यालयमा सम्पर्क गर्न किसानलाई सुझाव दिइएको छ। यस वर्ष जिल्लामा २७ हजार २०७ हेक्टरमा धान रोपिएको भए पनि रोग, किरा र बुढो बिउका कारण उत्पादनमा कमी हुने अनुमान गरिएको छ।

Facebook Comments Box