धार्मिक पर्यटनको आकर्षण बन्दै गाजादहको सिद्धबराह
बागलुङ, १२ भदौ
बागलुङको जैमिनी नगरपालिका–३, गाजादहमा २३ फिट अग्लो सिद्धबराहको पूर्णकद मूर्ति निर्माण गरिएको छ। सरकारद्वारा घोषणा गरिएका एक सय पर्यटकीय गन्तव्यमा समावेश गाजादहलाई धार्मिक पर्यटनस्थलका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले मूर्ति स्थापना गरिएको हो।
चार महिना लगाएर मूर्तिकार कृष्णबहादुर सुनारले तयार पारेको उक्त मूर्ति निर्माणमा करीब २० लाख रुपैयाँ खर्च भएको वडाध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिनुभयो। समुद्र सतहबाट करिब २,५०० मिटर उचाइमा अवस्थित गाजादह धार्मिक तथा प्राकृतिक सौन्दर्यले समृद्ध क्षेत्र मानिन्छ। भगवान् विष्णुको दश अवतारमध्ये तेस्रो बराह अवतारलाई झल्काउने गरी मूर्ति निर्माण गरिएको हो।
स्थानीयवासी र नगरपालिकाको सहकार्यमा ताल संरक्षण, मन्दिर निर्माण तथा अन्य पूर्वाधार विकास भइरहेका छन्। गाजादहमा आयोजित ज्ञान महायज्ञबाट संकलित रकम मूर्ति निर्माणमा खर्च गरिएको हो। २४ वर्गमिटर क्षेत्रफलमा फैलिएको गाजादह हाल धार्मिक पर्यटकका लागि प्रमुख गन्तव्यका रूपमा विकसित भइरहेको स्थानीयले बताएका छन्।

