प्रधानमन्त्री ओली शनिबार चीन जाने

काठमाडौँ, ११ भदौ

प्रधानमन्त्री केपी शर्मा ओली आगामी शनिबार चीन जाने भएका छन् । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा १५–१६ भदौमा उत्तरी चीनको तिआन्जिनमा हुने एससीओ शिखर सम्मेलनमा सहभागी हुने जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग अलग्गै भेटवार्ता गर्नेछन् भने १७ भदौमा आयोजना हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । यस क्रममा उनले अन्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखसँग पनि भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नुका साथै चीनको प्रतिरोध युद्ध तथा विश्वव्यापी फासिवादविरोधी विजयको ८०औं वार्षिकोत्सव कार्यक्रममा समेत सहभागी हुनेछन् ।

भ्रमण टोलीमा शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मालगायत उच्च अधिकारी समावेश छन् ।

चीन भ्रमण सम्पन्न गरेलगत्तै प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने तयारीमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box