बेनीमा २० वर्षपछि ‘थेत्तोर’ नाच प्रदर्शन
म्याग्दी, ११ भदौ
बेनीमा करिब दुई दशकपछि परम्परागत ‘थेत्तोर’ नाच प्रदर्शन गरिएको छ। नेपाल भाषा मंकाःखल, मैजुःखल र ल्यामः पुचका कलाकारले हरितालिका तीजको अवसरमा यो नाच प्रस्तुत गरेका हुन्। भाषा मंकाःखलका कलाकार सञ्जयकुमार श्रेष्ठका अनुसार विसं २०६२ पछि कलाकार अभावका कारण यो नाच प्रदर्शन हुन सकेको थिएन।
धानको बाला नाचका रूपमा परिचित ‘थेत्तोर’ मा रोजगारीका लागि भारत गएका परदेशी घर फर्कने क्रममा बाटोमा हुने ठट्यौली घटना–परिघटनालाई गीत–संगीत र अभिनयमार्फत प्रस्तुत गरिन्छ। यस वर्षको प्रस्तुतीमा बेनी सामुदायिक माविका विद्यार्थीसमेत सहभागी भएका थिए। वाद्यवादनसहित करिब ३० जनाको सहभागिता आवश्यक हुने यस नाचमा लाहुरे, युवती र जोक्करको अभिनय विशेष आकर्षण रह्यो।
घण्टाकर्ण चर्तुदर्शीदेखि तीजसम्म चल्ने बर्खेनाच अन्तर्गत घोडा, गोरु, नागागागिनी, रोपाइँ, लाखे र थेत्तोर नाच देखाइन्छ। यसपटक पनि विभिन्न मौलिक नाच प्रस्तुत गरिएको ल्यामः पुचका अध्यक्ष जेनेश श्रेष्ठले बताए। नेपाल भाषा मंकाःखल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठका अनुसार लाखेनाचले समाजमा विकृति फैलाउने घण्टाकर्ण राक्षसको वधपछि असत्यमाथि सत्यको विजय हुने सन्देश दिन्छ।

