झापामा नागरिकताभन्दा राहदानी बनाउने बढी

झापा, १० भदौ

जिल्लामा नागरिकता प्रमाणपत्रभन्दा राहदानी प्रमाणपत्र बनाउनेको संख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय तथा दमक र गौरीगञ्जका इलाका प्रशासन कार्यालयमार्फत नागरिकता र राहदानी वितरण हुँदै आएको छ। सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार, साउन महिनामा झापामा १,२८९ जनाले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन् भने २,३३३ जनाले राहदानी प्रमाणपत्र बनाएका छन्।

नागरिकताको आधारमा बंशजका १,२३०, वैवाहिक आधारमा ५५, र गैरआवासीय नागरिकताका चार जनाले प्रमाणपत्र लिएका छन्। गत एक वर्षको तथ्यांकअनुसार पनि राहदानी बनाउनेहरू नागरिकताभन्दा बढी रहेका छन्। आर्थिक वर्ष २०८१/८२ मा झापामा २२,७७७ जनाले नागरिकता प्रमाणपत्र लिएका थिए भने राहदानी बनाउने संख्या ३३,२२४ पुगेको थियो।

त्यसै गरी, नागरिकता र राहदानीको तुलनामा राष्ट्रिय परिचयपत्र (राष्ट्रिय आईडी) बनाउनेहरूको संख्या अझ बढी छ। साउनमा ५,७६७ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन्। साउन मसान्तसम्म झापामा तीन लाख ६० हजार ७७२ जनाले राष्ट्रिय परिचयपत्र पाइसकेको सहायक प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयो।

Facebook Comments Box