मनसुन कमजोर हुँदा धान रोपाइँमा कमी, उत्पादनमा गिरावटको आशंका

काठमाडौँ, ९ भदौ

यस वर्ष मनसुन अनुकूल नहुँदा देशभर धान रोपाइँमा कमी आएको छ। कृषि विभागले आइतबारसम्म संकलन गरेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा ३.६४ प्रतिशत कम रोपाइँ भएको छ।

गत वर्ष यसै समयमा ९८.५४ प्रतिशत रोपाइँ सम्पन्न भएकोमा यस वर्ष ९४.९ प्रतिशत मात्र भएको विभागले जनाएको छ। कुल १३ लाख ७६ हजार ४६६ हेक्टर रोपाइँयोग्य क्षेत्रफलमध्ये हालसम्म १३ लाख ६ हजार २९३ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ, जुन कुल क्षेत्रफलको ९३.३ प्रतिशत हो।

प्रदेशगत विवरणअनुसार—

  • कोशी प्रदेश : गत वर्ष १०० प्रतिशत, यस वर्ष ९७.२४ प्रतिशत

  • मधेस प्रदेश : गत वर्ष ९७ प्रतिशत, यस वर्ष ८६.३५ प्रतिशत

  • बागमती प्रदेश : गत वर्ष ९९ प्रतिशत, यस वर्ष ९७.२७ प्रतिशत

  • गण्डकी प्रदेश : गत वर्ष ९८ प्रतिशत, यस वर्ष ९६.६३ प्रतिशत

  • लुम्बिनी प्रदेश : गत वर्ष ९८ प्रतिशत, यस वर्ष ९८.३७ प्रतिशत

  • कर्णाली प्रदेश : गत वर्ष ९९ प्रतिशत, यस वर्ष ९९.७२ प्रतिशत

  • सुदूरपश्चिम प्रदेश : गत वर्ष १०० प्रतिशत, यस वर्ष पनि ९९.७२ प्रतिशत

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार समयमा वर्षा नभएकाले रोपाइँ ढिलो भयो र आवश्यक सिँचाइ अभावले रोपिसकेको धान पनि प्रभावित भएको छ। “यस वर्ष उत्पादनमा कमी आउने प्रक्षेपण गरिएको छ,” उहाँले भन्नुभयो।

मन्त्रालयका तथ्याङ्कअनुसार गत वर्ष (विसं २०८१) मुलुकमा ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ४.०४ प्रतिशतले वृद्धि थियो। प्रदेशगत उत्पादन वृद्धिदर कोशी (२.१६%), मधेस (१०.७%), लुम्बिनी (४.०६%) र सुदूरपश्चिम (६.१९%) मा सकारात्मक रहँदा बागमती (-१.१३%), गण्डकी (-३.२२%) र कर्णाली (-१०.३%) मा भने ह्रास देखिएको थियो।

यस वर्ष रोपाइँमा कमी देखिएको कारण आगामी उत्पादन घट्ने जोखिम थपिएको विभागले जनाएको छ।

Facebook Comments Box