परराष्ट्रमन्त्री डा. राणाद्वारा भियतनामका उपराष्ट्रपतिसँग शिष्टाचार भेट
काठमाडौँ, ७ भदौ
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग आज काठमाडौँमा शिष्टाचार भेट गर्नुभएको छ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका भियतनामी उपराष्ट्रपति भोसँगको भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी चासो र सहयोगका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटमा मन्त्री डा. राणाले भियतनामको तीव्र आर्थिक विकासप्रति शुभकामना व्यक्त गर्दै त्यसबाट अन्य मुलुकले पनि सिक्न सक्ने धारणा राख्नुभयो। उहाँले दुवै मुलुकबीच बौद्ध धर्म र सांस्कृतिक सम्बन्ध सबल कडी भएको उल्लेख गर्दै लुम्बिनी भ्रमण गर्ने भियतनामी नागरिक बढ्दो क्रममा रहेको प्रसङ्ग जोड दिनुभयो।
पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न सकिने सम्भावनाबारे कुराकानी गर्दै मन्त्री राणाले भियतनामबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान सुरू गर्न वातावरण बनाउन आग्रह गर्नुभयो।
त्यसैगरी नेपाल २०२६ पछि ‘अत्यन्त कम विकसित राष्ट्र’ (LDC) बाट स्तरोन्नतिको तयारीमा रहेको भन्दै त्यसपछिको अवस्थाका लागि सहयोग माग्नुभएको थियो।
नेपालले आगामी अवधिमा मानवअधिकार परिषद् (२०२७–२०२९) र आर्थिक तथा सामाजिक परिषद् (२०२९–२०३१) मा उम्मेदवारी दिने भएकाले समर्थन गर्न पनि अनुरोध गरिएको थियो।
उपराष्ट्रपति भोसले नेपाललाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, दुवै मुलुकले जी७७ र गुटनिरपेक्ष आन्दोलन (NAM) जस्ता अन्तर्राष्ट्रिय फोराममा विकासशील मुलुकको पक्षमा संयुक्त रूपमा काम गर्ने सहमति व्यक्त गरिएको छ।

