कार्की खोलाले बगाउँदा मकवानपुरमा एक युवक बेपत्ता

बागमती, ६ भदौ

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ स्थित कार्की खोलामा आएको बाढीले आज एक युवकलाई बगाउँदा बेपत्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार मकवानपुरगढी–७ सुकौरास्थित पसलबाट घरतर्फ फर्किँदै गरेका २५ वर्षीय विनोद बम्जन खोला तर्ने क्रममा बाढीले बगाएका हुन् ।

डीएसपी अर्यालले भन्नुभयो, “आज बेलुकी करिब ५ बजे अचानक खोलामा पानीको बहाव बढ्दा बम्जन बेपत्ता भएका छन् । उनको खोजीका लागि पाँच प्रहरी टोली स्थानीयवासीको सहयोगमा परिचालन गरिएको छ ।”

स्थानीयले कार्की खोलामा अस्थायी होमपाइप राखेर आवतजावत गर्दै आएका थिए । वर्षासँगै आएको आकस्मिक बाढीका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box