झापाको शिवसताक्षीमा बस दुर्घटना, ११ जना घाइते

झापा, ६ भदौ

झापाको शिवसताक्षी नगरपालिका–१० किरात चोकमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार कुन्जिबारीबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे १ ख २७७३ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनेमा –

  • बिर्तामोड–३ की ५३ वर्षीया सुमित्रा कडरिया

  • ७० वर्षीया डिकमाया खतिवडा

  • ५० वर्षीया रूपादेवी उप्रेती

  • बाह्रदशी–४ की ४० वर्षीया अस्मिमा खातुन र उनकी १३ वर्षीया छोरी सावरी खातुन

  • ३५ वर्षीया सफिना खातुन, उनका ७ वर्षीय छोरा इसाफ आलम र ३ वर्षीय छोरा फरियाफ आलम

  • शिवसताक्षी–४ की ३६ वर्षीया निर्मला काफ्ले

  • ३४ वर्षीया तुलसा गौतम र उनका ११ वर्षीय छोरा नितेश गौतम रहेका छन् ।

सफिना खातुन गर्भवती रहेको र उनको अवस्था मध्यम देखिएको प्रहरीले जनाएको छ । अन्य सबै घाइते सामान्य छन् । उनीहरूलाई थप उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड लगिएको छ ।

बस चालक मोरङ उर्लाबारी नगरपालिका–४ का ५६ वर्षीय मोहनलाल राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

Facebook Comments Box