निर्वाचन आउन ३० दिन बाँकीः समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हटाइयो
काठमाडौँ, २० माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट ७६ जनाको नाम हटाइएको निर्वाचन आयोगले जनाएको छ। राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारको बन्दसूचीमाथि आयोगले गरेको छानबिनका क्रममा उक्त संख्या हटाउने निर्णय गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।
समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएका उजुरी, प्रचलित कानुनले तोकेको उम्मेदवारको योग्यता तथा अयोग्यतासम्बन्धी व्यवस्था, आयोगबाट विभिन्न मितिमा भएका निर्णय र राजनीतिक दलबाट प्राप्त विवरणका आधारमा उम्मेदवारहरूको नाम रूजु गरिएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो।
विज्ञप्तिअनुसार हटाइएका उम्मेदवारमध्ये नेपाली कांग्रेसबाट एक, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट एक र नेपाल कम्युनिष्ट पार्टीबाट तीन जनाको नाम बन्दसूचीबाट हटाइएको छ। यस्तै, कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जना, प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५ जना, निर्वाचन आयोगले तोकेको जरिवाना भुक्तान नगरेका १० जना, उमेर नपुगेका चार जना, मतदाता नामावलीमा नाम समावेश नभएका एक जना र पिछडिएको क्षेत्रको मतदाता नभएका दुई जनाको नाम हटाइएको जनाइएको छ।
यसैगरी, महिला उम्मेदवार पेस गर्नुपर्ने स्थानमा पुरुष उम्मेदवार समावेश गरिएको कारण एक जनाको नाम हटाइएको छ। सम्बन्धित राजनीतिक दलकै आग्रहमा १० जनाको नाम बन्दसूचीबाट हटाइएको आयोगले जनाएको छ। उल्लिखित कारणमध्ये एकभन्दा बढी कारण परेका दुई जना पनि बन्दसूचीबाट हटाइएका छन्।

