विकट निसेलढोरका बासिन्दा बर्खामा खाद्यान्न अभावको चपेटामा

बागलुङ, ६ भदौ

जिल्लाको सबैभन्दा दुर्गम गाउँ मानिने निसेलढोरमा बर्खायाम सडक अवरुद्ध हुँदा खाद्यान्न ढुवानीमा गम्भीर समस्या उत्पन्न भएको छ। सात वर्षअघि बुर्तिबाङमार्फत सडक सञ्जालमा जोडिए पनि असारदेखि कात्तिकसम्म सडक भासिने, हिलो हुने र गाडी गुड्न नसक्ने अवस्था रहँदा यहाँका स्थानीयले हिउँदै अन्न जोहो गरेर राख्नुपर्ने बाध्यता छ।

निसेलढोरमा हाल बर्खामा झण्डै ३०० र हिउँदमा करिब १५० घरपरिवार बसोबास गर्छन्। कृषिजन्य उत्पादनमा सम्भावना बोकेको यो क्षेत्र पर्यटकका लागि पनि आकर्षक मानिन्छ, तर सडकको दुरावस्थाले आवतजावत र उत्पादनको बजारिकरण दुबै प्रभावित भएको छ।

स्थानीय सम्झना विकले भन्नुभयो,
“बर्खा लाग्नेबित्तिकै न गाडी चल्छन्, न घोडा खच्चड हिँड्छन्। बजारबाट एक बोरा चामल ल्याउन दिनभर लाग्छ। बिरामी परे डोकामा बोकेर लैजानुपर्ने बाध्यता छ।” कुले विकका अनुसार गाउँमा आलु, स्याउ, सिमीको राम्रो उत्पादन भए पनि सडक नचल्दा बजार पु¥याउन समस्या हुने र धेरै उत्पादन कुहिने अवस्था आउँछ। उहाँले चार किलोमिटर सडक स्तरोन्नति भएमा वर्षभर यातायात सम्भव हुने विश्वास व्यक्त गर्नुभयो।

निसीखोला गाउँपालिका–५ मा पर्ने यो बस्तीमा सडक पुगेपछि हिउँदमा यात्रा केही सहज भए पनि बर्खामा अझै असुविधा कायमै छ। यस वर्ष गण्डकी प्रदेश सरकारले ७० लाख रुपैयाँ विनियोजन गरी मसखोला–निसेलढोर चार किलोमिटर सडक स्तरोन्नति गर्ने तयारी गरेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिनुभयो।

“अब बाह्रै महिना सडक सञ्चालन हुने गरी काम भइरहेको छ,” अध्यक्ष घर्तीमगरले भन्नुभयो, “यात्रा र खाद्यान्न ढुवानी मात्रै होइन, कृषिजन्य उत्पादनलाई पनि सहजै बजार पठाउन सकिनेछ।”

Facebook Comments Box