अमेरिकाको संघीय पुनरावेदन अदालतले नेपाली TPS सुविधा तत्काल समाप्त गर्ने आदेश, ७ हजार नेपाली निकालिने सम्भावना
काठमाडौँ, ५ भदौ
अमेरिकाको संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको पक्षमा निर्णय दिँदै करिब ७ हजार नेपाली नागरिकको टेम्पोररी प्रोटेक्टेड स्टेटस (TPS) सुविधा तत्काल समाप्त गर्न अनुमति दिएको छ। ट्रम्प प्रशासनले पहिले नै अमेरिकामा बसिरहेका नेपाली TPS धारकले अगस्ट ५ सम्म मात्र सुविधा पाउने निर्णय गर्दै उनीहरूलाई देश छाड्न तयार हुन भनिसकेको थियो।
अदालतको आदेशसँगै म्याद सकिएका नेपालीलाई अमेरिकाले देशनिकाला प्रक्रिया अघि बढाउन सक्ने सम्भावना बढेको छ। यसैसँगै मध्य अमेरिकाका अन्य देशका नागरिक पनि प्रभावित हुने भएका छन्। अदालतको आदेशअनुसार ५१ हजार होन्डुरन र ३ हजार निकारागुआन नागरिकको TPS सुविधा सेप्टेम्बर ८ मा समाप्त हुने तय भएको छ।
अर्को समाचारमा, यसअघि जिल्ला अदालतले TPS धारकको सुविधा अदालती प्रक्रिया जारी रहँदासम्म कायम राख्न आदेश दिइसकेको थियो। तर, पुनरावेदन अदालतले उक्त आदेशलाई हालका लागि रोक लगाएको छ। आदेशमा डेमोक्र्याट बिल क्लिन्टन, रिपब्लिकन जर्ज डब्लु बुस र डोनाल्ड ट्रम्पका नियुक्त न्यायाधीशहरूले हस्ताक्षर गरेका छन्।

