बाढीपहिरोले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । बाढीपहिरोका कारण देशका विभिन्न प्रदेशमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। केही सडक पूर्ण रूपमा बन्द छन् भने केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ। प्राप्त विवरणअनुसार रसुवामा बाढीका कारण मुख्य सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध छन्। धादिङको धुनिबेँसी नगरपालिका–९, खत्रीपौवामा पहिरो जाँदा त्रिभुवन राजपथ एकतर्फी सञ्चालनमा छ। धादिङकै गजुरी गाउँपालिका–५, गलौंदीमा पहिरोका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

काभ्रेमा बाढीका कारण बीपी राजमार्ग बन्द भएको छ। यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका–२, बैसरीमा पहिरो जाँदा बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालन भइरहेको छ। नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका–३, जन्तीमा पहिरोका कारण कालीगण्डकी करिडोरमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ। उक्त सडकमा ठूला सवारीसाधन आवतजावत गर्न नसक्ने अवस्था रहेको छ।

यस्तै, बेँसीसहरदेखि खाङसारसम्मको सडक बाढीका कारण एकतर्फी सञ्चालनमा छ। कालीगण्डकी करिडोरको अर्को खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको विवरणमा उल्लेख छ। भेरी करिडोरमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ भने सल्यानको बागचौर–बनगाड क्षेत्रअन्तर्गत बनगाड कुपिण्डे नगरपालिका–११, बालुवासंग्रहीमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध तथा एकतर्फी सञ्चालनमा रहेकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न र सम्भावित जोखिमप्रति सतर्क रहन सम्बन्धित यात्रु तथा सवारीचालकलाई आग्रह गरिन्छ।

Facebook Comments Box