ढोरपाटन र निसेलढोरमा स्याउ नफल्दा किसान चिन्तित

बागलुङ, ५ भदौ

बागलुङको निसेलढोर र ढोरपाटन क्षेत्रमा यस वर्ष स्याउ नफलेपछि किसानहरू चिन्तित बनेका छन् । निसीखोला गाउँपालिका–५ का कुँडे, गाभा, काङलगायतका क्षेत्र र ढोरपाटन नगरपालिका–९ का नवी, भूजी, स्यालपाखेल आसपासमा समेत उत्पादनमा ठूलो गिरावट आएको छ ।

जिल्लाको प्रमुख स्याउ उत्पादक क्षेत्रमै उत्पादन घटेपछि किसानहरू मारमा परेका छन् । स्थानीय हेमराज सापकोटाले चार रोपनी क्षेत्रको बगैँचामा यस वर्ष १० प्रतिशत पनि फल नलागेको बताउनुभयो । उहाँले करिब एक दशकदेखि स्याउखेती गर्दै आएको भए पनि पछिल्ला तीन वर्षदेखि उत्पादन निरन्तर घटिरहेको गुनासो गर्नुभयो ।

“अघिल्लो वर्ष अलि कम फलेको थियो, यसपालि त रूखहरू पूरै रित्तै देखिन्छन्,” सापकोटाले भन्नुभयो, “जलवायु परिवर्तनकै असर हो । पहिले समयमा वर्षा हुन्थ्यो, उत्पादन पनि राम्रै हुन्थ्यो । तर अहिले समयमा पानी पर्दैन । लाखौँ लगानी गरेर खेती गर्दा पनि दाना फल्न छाड्दा ठूलो नोक्सानी बेहोर्नुपरेको छ ।”

त्यस्तै, किसान मनबहादुर घर्तीले गत हिउँदमा लामो खडेरीका कारण उत्पादन घटेको बताउनुभयो । “इटालियन फुजी जातबाहेक अन्य जात फलेनन्,” उहाँले भन्नुभयो, “पहिले एक–डेढ लाखसम्मको स्याउ बिक्री हुन्थ्यो, यसपालि त दुई हजारको पनि फल्दैन । हिउँ र वर्षा नभएकै कारण यो समस्या आएको हो ।”

जिल्लाभर हाल ५६ दशमलव ९२ हेक्टर क्षेत्रमा स्याउखेती हुँदै आएको छ । यसैअन्तर्गत बर्सेनि ३३१ दशमलव दुई मेट्रिक टन स्याउ उत्पादन हुँदै आएकोमा यो वर्ष उत्पादनमा ठूलाे गिरावट आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले जानकारी दिनुभयो ।

Facebook Comments Box