“भ्रामक समाचारप्रति युलेन्स एजुकेशन फाउण्डेशनको गम्भीर आपत्ति”

काठमाडौं, ४ भदौ 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालको सरुवामा युलेन्स स्कुल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माननीय डा. आरजु राणा देउवा संलग्न रहेको भन्दै प्रकाशित समाचारप्रति युलेन्स एजुकेशन फाउण्डेशनले गम्भीर आपत्ति जनाएको छ।

आज  केही दैनिक पत्रिका र केही युट्युब च्यानलमार्फत प्रसारित समाचारलाई “भ्रामक, कपोलकल्पित र तथ्यहीन” भन्दै फाउण्डेशनले खण्डन गरेको हो।

विज्ञप्तिमा भनिएको छ, “विभागले गरेको अनुगमनलाई विद्यालयले नियमित निरीक्षणको रूपमा ग्रहण गरेको थियो। विभागले माग गरेका सम्पूर्ण कागजात तथा जानकारी विद्यालयले तोकिएको समयमा नै उपलब्ध गराएको छ। माननीय डा. आरजु राणा देउवा यस प्रक्रियामा संलग्न हुनु भएको छैन र समाचारमा गरिएको दाबी पूर्ण रूपमा गलत छ।”

युलेन्सले स्पष्ट पारेको छ कि विद्यालय डा. देउवाको स्वामित्वमा नभई, नाफा वितरण नगर्ने संस्थागत स्वरूपको युलेन्स एजुकेशन फाउण्डेशन अन्तर्गत सञ्चालन हुँदै आएको हो। डा. देउवा विद्यालय व्यवस्थापन समितिको अवैतनिक तथा स्वयंसेवक अध्यक्ष मात्र रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

शुल्क संरचना, कार्यक्रम सञ्चालन र स्वामित्वबारे उठेका अन्य प्रश्नमा पनि फाउण्डेशनले प्रमाणसहित स्पष्टीकरण दिएको छ।

  • विद्यालयको शुल्क निर्धारण ललितपुर महानगरपालिकाको शिक्षा विभाग र अभिभावकहरूको सहभागितामा हुने।

  • शिक्षा मन्त्रालयबाट स्वीकृत कार्यक्रम मात्र सञ्चालनमा रहेको।

  • विद्यालयले २००९ देखि वैधानिक रूपमा आइबी डिप्लोमा कार्यक्रम सञ्चालन गर्दै आएको।

युलेन्स एजुकेशन फाउण्डेशनले आफूले नेपाल सरकारका सबै ऐन, कानुन, नियमावली र निर्देशनहरूको कडाइका साथ पालना गर्दै आएको दाबी गरेको छ। साथै, कर तथा सामाजिक सुरक्षा कोषमा योगदानको आधारमा सरकारले फाउण्डेशनलाई उत्कृष्ट संस्थाका रूपमा सम्मान गरेको समेत विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिको अन्त्यमा फाउण्डेशनले संचार माध्यम र युट्युब च्यानलहरूलाई तथ्यपरक समाचार सम्प्रेषण गर्न आग्रह गर्दै विद्यालय तथा अध्यक्ष डा. आरजु राणा देउवामाथि लगाइएका “भ्रमपूर्ण र बदनियतपूर्ण आरोप”को निन्दा तथा भर्त्सना गरेको छ।

Facebook Comments Box