राष्ट्रपति पौडेलसँग भारतीय विदेशसचिव मिश्रीको भेट

काठमाडौँ, १ भदौ

नेपाल भ्रमणमा रहेका भारतका विदेशसचिव विक्रम मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग आज शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।

भेटका अवसरमा राष्ट्रपति पौडेलले भारतले सामाजिक–आर्थिक तथा प्राविधिक क्षेत्रमा गरेको प्रगतिबाट नेपाल लाभान्वित भएको र अझ बढी लाभ लिन इच्छुक रहेको बताउनुभयो।

उहाँका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले भारतलाई उदाउँदो अन्तरराष्ट्रिय शक्तिका रुपमा उल्लेख गर्दै, नेपाल र भारतबीच शताब्दीऔँदेखिका सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक र आर्थिक सम्बन्ध आपसी विश्वास, सहयोग र सम्मानमा आधारित रहेको बताए।

राष्ट्रपति पौडेलले नेपालले भारतसँगको सम्बन्धलाई सधैँ उच्च प्राथमिकतामा राखेको र भारत सरकारको ‘छिमेक पहिले नीति’ को सराहना गर्ने उल्लेख गर्नुभयो।

विदेशसचिव मिश्रीले पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई प्राथमिकता दिइएको र त्यसमा नेपाललाई उच्च स्थान दिइएको जानकारी दिनुभयो।

साथै, आफ्नो भ्रमणका क्रममा दुवै देशबीच आधुनिक युगअनुकूल ‘कनेक्टिभिटी’ विस्तार, आपसी चासोका विषय र विकास–प्रगतिको एजेन्डामा सम्बद्ध अधिकारीहरूसँग छलफल गर्ने अवसर मिलेको बताउनुभयो।

Facebook Comments Box