राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौँ, ३० साउन – मुस्लिम आयोगले आर्थिक वर्ष २०८१/८२ का गतिविधिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले प्रतिवेदन हस्तान्तरण गरे।
सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएकाले सबैको सम्मान गरिनुपर्नेमा जोड दिए। “सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक सद्भाव, ऐक्यबद्धता र सामञ्जस्य कायम गरी समानता र सहअस्तित्वका आधारमा अघि बढ्न आवश्यक छ,” उहाँले भने।
राष्ट्रपतिले राज्यको सामाजिक र सांस्कृतिक रुपान्तरणसम्बन्धी नीतिमा विभिन्न जातजाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला र सम्पदाको संरक्षण र विकासको व्यवस्था रहेको स्मरण गराउँदै, यसको पालना सबैले गर्नुपर्नेमा जोड दिए।
मुस्लिम आयोगको जिम्मेवारी गहन रहेको उल्लेख गर्दै, राष्ट्रपति पौडेलले आयोगले आगामी दिनमा आफ्नो दायित्व अझ प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गरे।

