सरकारले २४ लाख डोज कोरोनाविरुद्धको खोप क्याप्सुल निलेझै निले : केपी शर्मा ओली
काठमाडौं, १८ वैशाख – नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले २४ लाख डोज कोरोनाविरुद्धको खोप (भ्याक्सिन) क्याप्सुल निलेझै निलेको बताएका छन् ।
आइतबार हेटौंडामा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘अहिलेको विकास २४ लाख डोज भ्याक्सिन क्याप्सुल निलेझै स्वाट्टै निले ।’ उनले अहिले चुनावका मुखमा अर्बौ रकम पर्ने औषधी उपकरण कमिसन चाहिएर खरिद गर्न लागेको आरोप समेत लगाए ।
स्वास्थ्यमन्त्री विरोध खतिवडालाई अगस्त्यजस्तो अनुहार भएको भन्दै ओलीले जति खाएपनि नपुग्ने ऋषि जस्तै स्वस्थ्यमन्त्री भएको टिप्पणी गरे । उनले चुनावका बेला खरिद बिक्री रोक्न चेतावनी समेत दिए ‘कुन अस्पताललाई सिटीस्क्यान मेसिन चाहियो ? कुन अस्पताललाई के चाहियो त्यो त अघिल्यै सरकारले ल्याइसकेको छ’, ओलीको भनाइ छ ।
ओलीले गठबन्धन सरकार खान र देशलाई कंगाल बनाउन जन्मेको पनि बताए । ‘अहिलेको सरकार खान जन्मेको हो । देशलाई विकास गर्न होइन, कंगाल बनाउन जन्मेको हो । सातवटा मन्त्रालय भएपुग्ने ठाउँमा १८ वटा । यो सरकार चुनाव गराउन पनि चाहाँदैनथियो’, ओलीको भनाइ छ ।
उनले नेपाली काँग्रेसको घोषणापत्रको पनि आलोचना गरे । उनले काँग्रेसको घोषणापत्रमा काँग्रेस सभापतिको नाम ८ ठाउँमा र एमाले अध्यक्षको नाम ४२ ठाउमा लेखेकोमा धन्यवाद दिए ।

