सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ : प्रधानमन्त्री ओली

ललितपुर, ३० साउन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन भइरहेका सबै सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्। आइसिटी फाउण्डेशनद्वारा आज आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटन समारोहमा उहाँले सामाजिक सञ्जाललाई नेपालमा दर्ता गर्नुपर्ने, कर तिर्नुपर्ने र कानुनअनुसार दायित्व पूरा गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीका अनुसार यसअघि नै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई यो विषयमा आवश्यक तयारी गर्न निर्देशन दिइसकिएको छ। “सूचना प्रविधिसँग सम्बन्धित सबै कारोबारमा सरकारले जानकारी राख्नुपर्छ, र सामाजिक सञ्जालले कानुनी दायित्व पूरा गर्नुपर्छ,” प्रधानमन्त्रीले भने।

उहाँले सरकार जनताले चाहेको सूचना प्रविधिको विकास र प्रवद्र्धनमा प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वदेश र विदेशमा लगानी गरेर आम्दानी गर्न सकिने सम्भावना औंल्याए। डिजिटल प्रविधि र हरित ऊर्जाका लागि नेपाल उपयुक्त गन्तव्य भएको बताउँदै, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को भरपुर प्रयोग गरी विकास र समृद्धिमा लाग्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्रीले शिक्षामा प्रविधिको उपयोगको उदाहरण प्रस्तुत गर्दै, गत वर्षदेखि अनलाइन माध्यमबाट एसइईका विद्यार्थीलाई शिक्षण गराउँदा १ लाख ५० हजारभन्दा बढीले लाभ लिएकाले नतिजामा सुधार आएको बताए। मोबाइल प्रयोगमा सावधानी अपनाउँदै बालबालिकालाई सिकाइ र विकासतर्फ उन्मुख गर्नुपर्नेमा पनि उनले जोड दिए।

सरकारले हालै एआई नीति पारित गरेको र सूचना प्रविधिको विकासलाई रूपान्तरण गर्ने लक्ष्य लिएको भन्दै, उहाँले यसमा निजी क्षेत्रलाई पनि सक्रिय सहभागिताका लागि आह्वान गरे। सुशासन कायम गर्न सूचना प्रविधिको प्रभावकारी उपयोग आवश्यक रहेको उल्लेख गर्दै, उहाँले यसमार्फत भ्रष्टाचार शून्यमा पु¥याउन सकिने विश्वास व्यक्त गरे।

Facebook Comments Box