बनेपामा १२३ वर्ष पुरानो ‘कन्या–पूजा’ परम्परा, हजारौँ बालिकाको सहभागीता
काभ्रेपलाञ्चोक, ३० साउन — ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको बनेपामा १२३ वर्षदेखि निरन्तर हुँदै आएको ‘कन्या–पूजा’ यस वर्ष पनि आयोजना हुने भएको छ। रजस्वला नभएका दश वर्षमुनिका बालिकालाई देवीसरह पूजिने यो परम्परा विसं १९५९ देखि प्रत्येक वर्ष सातौँ र कृष्ण जन्माष्टमीका दिन गरिँदै आएको हो।
यस वर्षको पूजा शनिबार, कृष्ण जन्माष्टमीको दिन हुनेछ। सनातन कन्या–पूजा प्रबन्ध समितिका अनुसार करिब ८ हजार बालिकाका लागि ३२ हजार स्वारीसहितका सामग्री तयारी भइसकेका छन्। पूजामा सहभागी हुने कन्या काभ्रेपलाञ्चोकका ‘सात गाउँ’का साथै छिमेकी जिल्लाबाट समेत आउने गर्छन्।
जनविश्वासअनुसार, रजस्वला नभएका र ‘बेल–विवाह’ नगरिएका कन्यालाई पूज्दा पूजारी निरोगी हुने र मनोकांक्षा पूरा हुने मान्यता छ। पूजामा भक्तजनले दानदक्षिणा, प्रसाद, मालपुवा, मिठाइ, बिस्कुट, जेरी, काजु आदि वितरण गर्छन्।
कृष्ण जन्माष्टमीको दिन बनेपाको पुरानो बजार क्षेत्रदेखि चारदोबाटोसम्म सडक किनारमा कन्या बस्ने र भक्तजनको लामो भीड लाग्ने गर्छ। गत वर्ष पूजामा करिब ८ हजार कन्याका लागि तीन करोड रुपैयाँभन्दा बढी खर्च भएको समितिले जनाएको छ।

