तारे होटलमा कोदोको सेलरोटीले पायो विशेष स्थान
काठमाडौँ, २६ साउन
बुढानीलकण्ठस्थित पाँचतारे होटल होलिडे इन रिसोर्टले बिहानीको नास्तामा कोदोका परिकारलाई लाइभ–किचनमार्फत प्रस्तुत गर्दै रैथाने खानाको प्रवर्द्धनमा नयाँ पहल गरेको छ। गत शनिबार प्रस्तुत दर्जनौँ परिकारमध्ये कोदोको सेलरोटी विशेष चर्चामा रह्यो।
ग्राहककै सामु तयार गरिएका बासनादार सेलरोटीले नेपाली मात्र होइन, विदेशी पाहुनाको पनि ध्यान खिच्यो। विदेशी पाहुनाले नौलो लागेर सोधपुछ मात्र होइन, थप–थप गरेर खाने गरेको रिसोर्टले जनाएको छ। कतिपय नेपाली पाहुनाले त प्याक गरेर घर लैजाने इच्छा पनि व्यक्त गरे।
नेपाली खानाको छुट्टै लाइभ–किचन स्टलमा कोदोको मफिन, प्यानकेक, शेर्पा समुदायको रिकीकुर र पानको लड्डुसमेत प्रस्तुत गरिएको थियो। नेपाली खाना प्रवर्द्धन अभियानअन्तर्गत भोजनलिपि स्वादको पहलमा सेफ घनश्याम कँडेलको नेतृत्वमा सेफ इङ्वा सुब्बा, मानबहादुर तामाङ र सङ्गम मोक्तानले यो परिकार तयार पारेका थिए।
होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाहले रैथाने खाना संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व भएको बताउँदै ठूला तारे होटलमा नेपाली मेन्यू आवश्यक रहेको औंल्याए। हानको ६०औँ वर्षगाँठमा ६० प्रकारका रैथाने खानासम्बन्धी पुस्तक प्रकाशनको तयारी भइरहेको छ।
अभियान संयोजक देवीप्रसाद सापकोटाले नेपाली र विदेशी दुवैलाई लक्षित गरेर कार्यक्रम विस्तार गर्ने योजना रहेको बताए। पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले कोदो, फापर, सिस्नोजस्ता स्वस्थ र पोसिला परिकारलाई कलात्मक ढङ्गले प्रस्तुत गर्न सके विदेशी पर्यटकलाई समेत आकर्षित गर्न सकिने विश्वास व्यक्त गरे। यसअघि भोजनलिपि स्वाद अभियानले पाँच संस्करणमार्फत ४० भन्दा बढी जिल्लामा उत्पादित कृषि उपजमा आधारित परिकार प्रवर्द्धन गरेको छ।

