बौद्धमा सुरु भयो ऐतिहासिक रोपाइँ जात्रा
काठमाडौँ, २६ साउन
मल्लकालदेखि निरन्तर चलिआएको ऐतिहासिक तथा सांस्कृतिक रोपाइँ जात्रा (घोनाइ) आइतबारदेखि बौद्ध क्षेत्रमा सुरु भएको छ। गाईजात्रा तथा रोपाइँ जात्रा मूल समारोह समितिका अनुसार जात्रामा यस वर्ष पनि हलगोरु, युवा र बाल बाउसे, रोपार, लाखे, झाँक्री, घोडा तथा विद्यालयका विविध प्रस्तुति रहनेछन्। जात्रा बौद्ध स्तूप परिक्रमा गर्दै फूलबारी, बौद्ध गेट, पिपलबोट, टुसाल हुँदै पुनः स्तूप परिसरमा सम्पन्न हुनेछ।
कार्यक्रमको पहिलो दिन आइतबार घिनतिङना आयोजना गरिएको थियो भने सोमबार रोपाइँ जात्रा र र्याली निकालिनेछ। जात्रामा विभिन्न विधाका प्रतिस्पर्धीलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्रदान गरिने संयोजक जयमङ्गल लामाले बताए।
काठमाडौँ महानगरपालिका–६ का वडाध्यक्ष भुवन लामाका अनुसार गाईजात्रा, रोपाइँ जात्रा र घोनाइ जात्रा भव्य रूपमा सम्पन्न गर्न यस वर्ष महानगरले १५ लाख रुपैयाँ विनियोजन गरेको छ। इतिहासकारहरूका अनुसार रोपाइँ जात्रा सोह्रौँ र सत्रौँ शताब्दीदेखि मनाउन थालिएको हो। खेतीपाती सम्पन्न भएको खुसीयाली मनाउने यो जात्रामा सहभागीहरूले हली, बाउसे, रोपाहारजस्ता क्रियाकलापको अभिनय गर्दै बाजागाजासहित बौद्ध क्षेत्रको परिक्रमा गर्छन्।

