रासायनिक मल आपूर्तिमा कृषि मन्त्रालय सक्रिय

काठमाडौँ, २५ साउन

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खेतीपातीको मौसममा किसानलाई रासायनिक मल सहज रूपमा उपलब्ध गराउन आवश्यक तयारी र आपूर्ति व्यवस्थापनलाई तीव्र बनाएको जनाएको छ। मन्त्रालयका अनुसार हाल २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात छ भने १ लाख ४० हजार ५०४ मेट्रिक टन मार्गमा छ।

कृषि सामग्री कम्पनी लिमिटेडमा २९ हजार १११ मेट्रिक टन मल मौज्दात छ, जसमा युरिया १६ हजार ५३९ मेट्रिक टन, डिएपी ७ हजार ६५३ मेट्रिक टन र पोटास ४ हजार ९१५ मेट्रिक टन छन्। साल्ट ट्रेडिङ कर्पोरेसनमा भने १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात छ, जसमा युरिया १० हजार ९८४ मेट्रिक टन, डिएपी ९४२ मेट्रिक टन र पोटास १ हजार ७८५ मेट्रिक टन समावेश छन्।

मन्त्रालयले चालु आर्थिक वर्षका लागि ६ लाख मेट्रिक टन मल आपूर्ति गर्ने लक्ष्यसहित रु २८ अर्ब ८२ करोड बराबरको बजेट विनियोजन गरेको छ। हालसम्म ३ लाख मेट्रिक टन मल खरिदका लागि बोलपत्र आह्वान भइसकेको छ। मार्गमा रहेका मलमध्ये कृषि सामग्री कम्पनीका लागि ७८ हजार ३४९ मेट्रिक टन र साल्ट ट्रेडिङका लागि ६२ हजार १५४ मेट्रिक टन छ।

साथै, गत वर्षको बाँकी ३० हजार ९८३ मेट्रिक टन मल पनि मौज्दात छ, जसमा युरिया १९ हजार ९२३ मेट्रिक टन, डिएपी १० हजार ४४८ मेट्रिक टन र पोटास ६११ मेट्रिक टन छन्। कृषि मन्त्री रामनाथ अधिकारीका अनुसार सरकारले किसानलाई कुनै कमी नपारी समयमै मल उपलब्ध गराउन आवश्यक सबै पहल गरिरहेको छ।

Facebook Comments Box