रसुवा बाढीबाट ९८ करोड बढीको बीमा दाबी
काठमाडौँ, २५ साउन
गत असार २३ गते रसुवामा अविरल वर्षा र बाढी–पहिरोले पुर्याएको क्षतिको प्रारम्भिक बीमा दाबी रकम रु ९८ करोड ५९ लाख ८२ हजार पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार साउन २२ गतेसम्म बीमा दाबीको संख्या ७८ पुगेको छ। तीमध्ये सम्पत्ति बीमा २, सामुद्रिक बीमा ९, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ५, मोटर बीमा (निजी) १६ र मोटर बीमा (सार्वजनिक) ४२ रहेका छन्।
बीमा कम्पनीअनुसार, सबैभन्दा बढी दाबी हिमालयन एभरेष्ट इन्स्योरेन्समा रु ५५ करोड पुगेको छ। शिखर इन्स्योरेन्समा रु १६ करोड ९६ लाख ३० हजार, नेपाल इन्स्योरेन्समा रु ८ करोड ७३ लाख, र सानिमा जिआइसीमा रु ६ करोड ८४ लाख ८२ हजार बराबरको दाबी परेको छ।
त्यसैगरी, नेको इन्स्योरेन्समा रु ५ करोड ६७ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रु २ करोड ६५ लाख, युनाइटेड अजोड इन्स्योरेन्समा रु ९१ लाख, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा रु ७६ लाख ७० हजार, एनएलजी इन्स्योरेन्समा रु ४७ लाख, सिद्धार्थ प्रिमियरमा रु ३१ लाख र प्रभु इन्स्योरेन्समा रु २८ लाख बराबरको दाबी दर्ता भएको छ। लेहेन्दे खोलामा आएको बाढीले नेपाल–चीन सीमास्थित मितेरी पुल, भन्सार यार्डमा पार्किङ गरिएका सवारीसाधन र रसुवागढी हाइड्रोपावरलगायत संरचनामा ठूलो क्षति पुर्याएको थियो।

