पोखरामा ६.४ किलो सुनसहित ११ भारतीय नागरिक पक्राउ
कास्की, २५ साउन
पोखरामा प्रहरीले छ किलो चार सय ग्राम अवैध सुनसहित ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू भारतको महाराष्ट्र र पश्चिम बङ्गालका बासिन्दा भए पनि पोखराको विभिन्न स्थानमा बसोबास गर्दै आएका थिए।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलीका अनुसार उनीहरूलाई शनिबार सार्वजनिक गरिएको हो।
पक्राउ परेकाहरूको साथबाट नगद पाँच लाख १४ हजार रुपैयाँ र चार सय ४४ तोला चाँदी पनि बरामद गरिएको छ। बरामद सुनको बजार मूल्य करिब ११ करोड एक लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। पोखरा महानगरपालिका–२, ३, ४ र ९ मा अवैध सुन–चाँदी कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
पक्राउ परेकाहरूमा ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४० वर्षीया सुनिता पवार, ४५ वर्षीय मनिकलाल आदक, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३८ वर्षीय उज्ज्वल भोमिक, ३५ वर्षीय सन्दिप ढाव, ४१ वर्षीय सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षीय गोविन्दा दिण्डा र ४९ वर्षीय प्रोभास माझी रहेका छन्। पक्राउ परेका सबैलाई बरामद सुन, चाँदी र नगदसहित आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइने प्रहरीले जनाएको छ।

