एलएलडिसी तेस्रो सम्मेलनमा नेपालको जोड: सहयोग र साझेदारी विस्तार
काठमाडौँ, २४ साउन
तुर्कमेनिस्तानमा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को संयुक्त राष्ट्रसङ्घीय तेस्रो सम्मेलनमा नेपालले आपसी सहयोग र साझेदारी विस्तारमा जोड दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सहभागिता जनाएको नेपाली प्रतिनिधिमण्डल आज स्वदेश फर्केपछि परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा यो जानकारी दिइयो।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री ओलीले सम्मेलनमा भूपरिवेष्ठित मुलुकहरूलाई भू–जडित, पारवहन निर्भरबाट व्यापार प्रतिस्पर्धी, र जलवायु सङ्कटापन्नबाट जलवायु प्रतिरोधी मुलुकमा रुपान्तरण गर्न ‘आभाजा कार्यक्रम’लाई महत्त्वपूर्ण कदमका रूपमा प्रस्तुत गर्नुभयो।
प्रधानमन्त्रीले स्मार्ट पूर्वाधार, राजमार्ग तथा रेलवे विस्तार, व्यापारिक मार्ग विकास, हरित ऊर्जा तथा कोरिडोरमार्फत सीमापार सम्पर्क विस्तारमा नेपालको प्रयास स्पष्ट पारेका थिए। साथै, नेपालको विकास यात्रामा छिमेकी मुलुक, विकास साझेदार र दातृ निकायको थप सहयोगको आह्वान पनि गर्नुभयो।

