बजेट अभावमा भोजपुरको ‘शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवन’ अलपत्र
भोजपुर, २४ साउन
शैक्षिक अनुसन्धानलाई प्रवर्द्धन गर्ने उद्देश्यले २०८१ मङ्सिरमा सुरु गरिएको भोजपुरको ‘शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवन’ निर्माण बजेट अभावका कारण अधुरो छ। कोशी प्रदेश सरकारले पहिलो चरणमा २५ लाख रुपैयाँ विनियोजन गरे पनि थप आवश्यक ५० लाख नपाएपछि काम रोकिएको नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरका अध्यक्ष विष्णुकुमार राईले बताए।
हाल भवनमा तला थपिएको छ तर बाँकी संरचना निर्माण, भित्री सजावट र सुविधाहरू अधुरै छन्। स्थानीय तहबाट १४ लाख ५० हजार रुपैयाँ जुटाएर २०० जनासम्म अट्ने सभाहल निर्माण भइरहेको छ। शिक्षकहरूले पनि स्वेच्छिक सहयोग संकलन गरिरहेका छन्। यसोधरा माध्यमिक विद्यालय टक्सारका प्रधानाध्यापक ध्रुवराज रेग्मीका अनुसार भवन पूर्णता पाउन प्रदेश सरकारको सहयोग अत्यावश्यक छ।
कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राईले स्थलगत अनुगमन गर्दै अधुरा योजना पूरा गर्न बजेट पहल गर्ने प्रतिबद्धता जनाएकी छन्। भवन भोजपुर नगरपालिका–७ मा तीन रोपनी, एक आना तीन पैसा क्षेत्रफलमा, शहरी विकास तथा भवन कार्यालय धनकुटाको मातहतमा निर्माण भइरहेको हो।

