बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न मुख्यमन्त्री कार्यालयद्वारा पत्रचार
कर्णाली, २३ साउन
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष २०८२/८३ का बजेट र कार्यक्रमहरू कार्यान्वयनका लागि सबै मन्त्रालय र सम्बन्धित निकायलाई बिहीबार औपचारिक पत्राचार गरेको छ। मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा गत असार २५ गते बसेको बैठकका निर्णयअनुसार,
आयोजनाको छनोट तथा प्रस्तावसम्बन्धी कार्यविधि–२०८१ को प्रावधानअनुसार सडक र भवन पूर्वाधारका हकमा रु ३० लाखभन्दा कम र अन्य आयोजनामा रु १५ लाखभन्दा कम लागत हुने योजनाहरू प्रदेश सरकारबाट कार्यान्वयन नगर्न र ती आयोजनाको विवरण साउन १५ गतेभित्र कार्यालयमा पठाउन निर्देशन दिइएको छ।
त्यसैगरी, कार्यविभाजन नियमावली–२०७४ अनुसार मन्त्रालयको कार्यक्षेत्रसँग नमिल्ने आयोजना स्वीकृत भए, त्यसलाई सम्बन्धित मन्त्रालय वा निकायमार्फत कार्यान्वयन गर्न मिलाउने व्यवस्था मिलाउन भनिएको छ। मन्त्रालयहरूले स्वीकृत वार्षिक विकास कार्यक्रमअन्तर्गतका आयोजनाको नाम, विनियोजित रकम, र स्थानीय तहमा पठाइने विवरण साउन १५ गतेभित्र पठाइसक्नुपर्ने निर्देशन पनि दिइएको छ।
समपूरक र विशेष अनुदानका आयोजनामा साउन मसान्तभित्र बोलपत्र आह्वान गर्न, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका रु १ करोडभन्दा माथिका तथा अन्य मन्त्रालयका रु ५० लाखभन्दा माथिका आयोजनामा भदौ मसान्तभित्र बोलपत्रको सूचना प्रकाशित गर्न भनिएको छ। बहुवर्षीय वा स्रोत सुनिश्चित गर्नुपर्ने आयोजनाको विवरण पनि साउन मसान्तभित्र योजना आयोगमा पेस गर्नुपर्नेछ।
विगतका ठेक्का भइसकेका आयोजनालाई साउनदेखि नै कार्यान्वयनमा लैजान, आयोजनासम्बन्धी कार्यविधि र आयोजना बैंक कार्यविधि परिमार्जनका लागि साउन मसान्तभित्र योजना आयोगले प्रतिवेदन तयार गर्न, र अनुदानसम्बन्धी कानुनी व्यवस्था संशोधनका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले मस्यौदा बनाउनुपर्नेछ।
भदौ मसान्तभित्र आवश्यक कार्यविधि तयार गरी स्वीकृत कार्यक्रमको कार्यान्वयन अघि बढाउन, र अवण्डामा रकम नराखी समयमै खर्च कार्यान्वयनमा लैजानुपर्ने निर्देशन पनि मुख्यमन्त्री कार्यालयले दिएको छ।

